Logo

विद्यालयका प्रि–आइसोलेसन हटाउँदा धौलागिरी अस्पतालको आइसोलेसन भरियो



बागलुङ, १४ असोज । करिब एक हप्ता खाली रहेको धौलागिरी अस्पताल बागलुङको आइसोलेसन कक्ष फेरि भरिएको छ । असोज ११ गते एकै दिन ३१ जना कोरोना सङ्क्रमित पहिचान भएलगतै अस्पतालको आइसोलेसन कक्ष भरिएको हो । लक्षणसहितका सङ्क्रमितलाई मात्र अस्पतालको आइसोलेसन कक्षमा राख्ने भनिए पनि विद्यालयस्तरका प्रि–आइसोलेसन हटाउनुपर्ने भएकाले अस्पतालमा राखेको धौलागिरी अस्पताल बागलुङका प्रमुख डाक्टर शैलेन्द्र विक पोखरेलले बताउनुभयो ।

यहाँ हाल ६७ जना सक्रिय कोरोना सङ्क्रमित रहेका छन् । सङ्क्रमित मध्ये २५ जना धौलागिरी अस्पताल, १७ जना गलकोट नगरपालिकाको नरेठाँटी स्वास्थ्य चौकी, नौ जना निसी भुजी जनता क्याम्पस, पाँच जना धौलागिरी बहिरा आवासीय मावि, तीन जना जनता प्रावि बरेङ, छ जना जनजागृति मावि तमानखोला र दुइ जना पौदिटारी आधारभूत विद्यालय बडिगाडमा राखिएको छ ।
जिल्लामा कुल ३९१ सङ्क्रमितमध्ये ३२३ निको भएका छन् । एक जनाको मृत्यु भएको थियो । हाल १२४ जना क्वारेन्टाइनमा रहेको महामारी फोकल पर्सन याम बरालले जानकारी दिनुभयो । कुल सात हजार ९०२ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो ।

पछिल्लो समय महिला सङ्क्रमितको सङ्ख्या वृद्धि हुँदै गएको छ । साउन अन्तिम हप्तासम्म १२ प्रतिशतमा सीमित महिला सङ्क्रमितको सङ्ख्या भदौ सुरुदेखि असोज दोस्रो हप्ता आईपुग्दा १८ प्रतिशतमा पुगेका फोकल पर्सन बरालको भनाइ छ । नेपालमा कोरोना परीक्षण दर ७।४ प्रतिशत हुँदा बागलुङमा ५ प्रतिशत छ भने मृत्युदर ०.७ हुँदा बागलुङमा ०.३ छ भने निको हुदे दर ८८ प्रतिशत रहेको खबर आजको गोरखापत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्