Logo

७ महीनापछि पर्यटक आगमन खुला



काठमाडौं, कार्तिक २ । कोरोना जोखिमका कारण ७ महीनादेखि बन्द रहेको पर्यटन आगमन कात्तिक १ गतेबाट खुला गरिएको छ । पर्वतारोहण तथा पदयात्रामा आउने विदेशी पर्यटक आगमन शनिवारदेखि खुला भएको हो ।

सरकारले नेपाल आउने विदेशी पर्यटकलाई पीसीआर परीक्षणको रिपोर्ट अनिवार्य गर्दै कात्तिक १ गतेदेखि पर्यटक आगमन खुला गर्ने निर्णय यसअघि नै गरिसकेको थियो । तर, सबैखाले पर्यटक नेपाल आउन भने अरू १ महीना कुर्नुपर्ने छ ।

पर्वतारोहण तथा पदयात्रामा विदेशी पर्यटक आगमन खुला गरिए पनि पर्यटक नेपाल आएपछि ७ दिन होटेल क्वारेन्टाइन बसेर पुनः परीक्षण गरेपछि मात्रै घुम्न जान पाउने व्यवस्था अव्यावहारिक भएको र यसले पर्यटक आगमन हुने सम्भावना कम रहेको पर्यटन व्यवसायीहरूको धारणा छ ।

पर्यटन व्यवसायीले बढीमा ३ दिन मात्रै होटेलमा राखेर परीक्षण गरी घुम्न पठाउनुपर्ने माग गर्दै आएका छन् । सरकारले चैत ५ देखि बन्द गराएको अनअराइभल भिसा पनि यसअघि नै खुला गरिसकेको छ । इराक, नाइजेरिया, घाना, जिम्बाबे, स्वीटजरल्यान्ड, सोमालिया, क्यामरून, लाइबेरिया, इथियोपिया, प्यालेस्टाइन, अफगानिस्तान र सिरियाबाहेक देशका नागरिकले नेपालमा अनअराइभल भिसा पाउने गरेका छन् । आर्थिक अभियान दैनिकबाट

 



प्रतिक्रिया दिनुहोस्