Logo

दूरसञ्चार कम्पनीको लाभकर सरकारलाई



काठमाडौं, कार्तिक २ । होल्डिङ कम्पनीमार्फत दूरसञ्चार कम्पनीमा हुने लगानी र त्यसको सेयर खरिद बिक्रीबापत नेपाल सरकारले नै लाभकर प्राप्त गर्ने कानुनी व्यवस्थाको तयारी हुँदै छ । करिब २४ वर्ष पुरानो दूरसञ्चार ऐनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा यस्तो व्यवस्था गरिएको हो ।

छलफलका लागि नेपाल दूरसञ्चार प्राधिकरणले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पेस गरेको उक्त विधेयकमा ‘दूरसञ्चार सेवा सञ्चालनका लागि अनुमति प्राप्त संस्थाको नाममा होल्डिङ कम्पनीमार्फत लगानी गर्दा तथा यसको सेयर खरिद बिक्री गर्दा हुन आउने लाभकर नेपाल सरकारको हुनेछ’ उल्लेख छ ।

स्विडेनको टेलियासोनेराको मुख्य लगानीमा नेपालमा दूरसञ्चार सेवा उपलब्ध गराइरहेको एनसेलको ८० प्रतिशत सेयर खरिद बिक्रीबापत प्राप्त हुने लाभकरमा लामो विवाद भएको थियो । विधेयकमा भएको व्यवस्था पारित भएमा अब हुने यस्ता खरिद बिक्रीमा नेपाल सरकारलाई सहजै लाभकर उठाउन मार्ग प्रशस्त हुनेछ । यसले लाभकर विवादको सहज अन्त्य पनि हुनेछ ।

एनसेलकै हकमा सेयर खरिद बिक्रीबापत नेपाल सरकारलाई प्राप्त हुनुपर्ने लाभकरका सन्दर्भमा शृङ्खलाबद्ध चर्चा, विवादपछि अदालतमा गएर उक्त मुद्दा टुङ्गिएको थियो । यस्तो विवादमा सर्वोच्च अदालतले नेपाल सरकारले नै लाभकर प्राप्त गर्नुपर्ने आदेश जारी गरेपछि यद्यपि त्यो नजिरका रूपमा स्थापित भने भइसकेको छ । दूरसञ्चार कम्पनीसँग सम्बन्ध रहेकोले प्राधिकरणले नै लाभकर सङ्कलन गर्ने विषयमा पहिलो पटक व्यवस्था गरेको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot