Logo

उपत्यकाबाट ६ दिनमा १ लाख ४३ हजार मात्र बाहिरिए



काठमाडौं, कार्तिक ७ । उपत्यकाबाट ६ दिनमा १ लाख ४२ हजार ७ सय ६९ यात्रु बाहिरिएका छन् । घटस्थापनायता बाहिरिनेको संख्या दैनिक बढ्दो छ । तर गत वर्षको तुलनामा दसैंमा बाहिरिने यो संख्या भने धेरै कम हो ।

कोभिड–१९ का कारण लकडाउन भई विद्यालय, क्याम्पसलगायत बन्द भएसँगै १२ लाखभन्दा बढी यात्रु पहिला नै बाहिरिसकेका छन् । लकडाउन खुलेपछि उपत्यका छाड्नेको संख्या झन् बढेको हो ।

कात्तिक १ गते घटस्थापनाका दिन ४ हजार २ सय २१ सवारी र २१ हजार ४ सय ७८ जना यात्रु बाहिरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । यही दिन ४ हजार ४ सय ४ सवारीसँगै १६ हजार ६ सय ४९ यात्रु उपत्यका भित्रिएको ट्राफिक प्रहरीको तथ्यांक छ । बिहीबार साँझसम्म २६ हजार ५ सय ४६ जना यात्रु बाहिरिएका छन् ।

असोज १ गते सरकारले लामा तथा मध्यम दूरीका सवारी सञ्चालन गर्न दिएसँगै १ लाख ६० हजार ७ सय ४५ सवारीसँगै ६ लाख २८ हजार ७६ जना यात्रु भित्रिएका छन् । १ लाख ६१ हजार ५ सय ३६ सवारी र ७ लाख २१ हजार ८ सय ४५ सय यात्रु बाहिरिएका छन् । दसैंका बेला अघिपछि भीड हुने बसपार्क, टिकट काउन्टर भने यो वर्ष सुनसान बने । यात्रु नहुँदा व्यवसायीले खाली सवारी सञ्चालन गर्दै आएका छन् ।

गत वर्षजस्तो यो पटक उपत्यकाबाट बाहिरिने सवारी चाप कम रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले जानकारी दिए । ‘कोभिड–१९ को जोखिम दैनिक बढ्दो छ,’ उनले भने, ‘त्यसैले स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य गरिएको छ ।’ स्वास्थ्य सुरक्षाअनुसार सवारी नचलाउनेलाई नियमअनुसार कारबाही गर्ने गरेको उनले बताए । कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot