Logo

शैलुङको बदमासीः ठेक्का म्याद समाप्त, मल आयात छैन



काठमाडौं, कार्तिक २६ । भदौमा २५ हजार मेट्रिकटन युरिया मल खरीद तथा आयातको ठेक्का अलपत्र पारेको कम्पनी शैलुङ इन्टरप्राइजेजले दोस्रो ठेक्का पनि अलपत्र पारेको छ । शैलुङले ३० हजार मेट्रिकटन युरिया मल आयातका लागि पाएको दोस्रो ठेक्कासमेत अलपत्र पारेको हो ।

कम्पनीले गत असार १८ गते ३० हजार मेट्रिकटन युरिया मल आयातका लागि ठेक्का पाएको थियो । मल आयात गरिसक्नुपर्ने सम्झौताको म्याद आइतवार सकिएको छ ।राजनीतिक पहुँचका आधारमा मल खरीद तथा आयातको जिम्मा पाएको सो कम्पनीले समयमै मल आयात नगरी ठेक्का अलपत्र पार्ने काम भएको छ ।

कृषि सामग्री कम्पनीका प्रबन्ध निर्देशक नेत्र भण्डारीले अब शैलुङसँग गरिएको ठेक्का सम्झौता रद्द गरिनुका साथै धरौटी रकम जफत गर्ने र कानूनबमोजिम अन्य कारबाहीको काम पनि अघि बढ्ने बताए । ‘खरीद विज्ञ तथा कानून विज्ञहरूको राय अनुसार कारबाहीको काम अघि बढ्छ,’ उनले भने । उनका अनुसार शैलुङले धरौटीका लागि बुझाएको करीब ५ करोड रुपैयाँसमेत जफत गरिनेछ ।

यसअघि पनि कृषिले शैलुङलाई २५ हजार मेट्रिकटन युरिया मल समयमै आपूर्ति गर्न नसक्दा ९ करोड रुपैयाँभन्दा बढी धरौटीजफत गर्नुका साथै कालोसूचीमा राख्न सिफारिश गरेको थियो ।

अहिले कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनले ४ लाख ३५ हजार मेट्रिकटन रासायनिक मल खरीदका लागि ग्लोबल टेन्डर गरिसकेका छन्, जसमध्ये कृषिले २ लाख मेट्रिकटन युरिया, १ लाख मेट्रिकटन डीएपी र १० हजार मेट्रिकटन पोटास खरीदका लागि टेन्डर गरेको छ । यसमध्ये १० हजार मेट्रिकटन पोटास नेपाल भित्रिसकेको छ भने २० हजार मेट्रिकटन डीएपी आयातको क्रममा छ ।

३० मेट्रिकटन युरिया अबको १५ दिन कोलकाता आइपुग्ने कम्पनीका प्रवक्ता विष्णु पोखरेलले जानकारी दिए । त्यसैगरी साल्टले पनि ८० हजार मेट्रिकटन युरिया, ४० हजार मेट्रिकटन डीएपी र ५ हजार मेट्रिकटन पोटास खरीदका लागि टेन्डर गरिसकेको बताइएको छ । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot