Logo

दण्डहीनताले मौलाउँदै आपराधिक घटना



महोत्तरी, मंसिर ११ । महोत्तरी बर्दिबासकी ६ वर्षीया गुलाब खातुनको बलात्कारपछि हत्या गरेको आरोपमा गौशाला–५ का अरूणकुमार साहलाई प्रहरीले पक्राउ गरेको छ । हत्या आरोपमा साह पहिलोपटक पक्राउ परेका भने होइनन् । गत वैशाखमा पनि आफ्नै साथीलाई हत्या गरेको अभियोग उनीमाथि छ । हत्या अभियोगमा उनीविरुद्ध उच्च अदालत जनकपुरमा मुद्दा चलिरहेको छ ।

वैशाख २८ गते साँझ गौशालाको होटलमा सँगै मदिरा सेवन गरी घर फर्कंदै गर्दा बाटोमा विवाद झिकेर साहले आफ्नै साथी दिलीप ठाकुरको हत्या गरेको अभियोगमा साहविरुद्ध मुद्दा चलाइएको हो । उक्त मुद्दा विचाराधीन अवस्थामा छ । एउटा हत्या अभियोगमा मुद्दा चलिरहेकै बेला उनी अर्को हत्या आरोपमा पक्राउ परेका छन् ।

जेठ १९ गते जिल्ला न्यायाधीश सुमनकुमार न्यौपानेको एकल इजलासले साहलाई एक लाख रूपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो । सोही आदेशमा उनी धरौटी राखेर रिहा भएका हुन् । जिल्ला अदालतको धरौटीमा छाड्ने आदेशमा असहमति जनाउँदै थुनामै राखेर मुद्दा चलाउने भन्दै उच्च सरकारी वकिल कार्यालयले उच्च अदालत जनकपुरमा २५ असारमा निवेदन दिए पनि अहिलेसम्म त्यसमा सुनुवाइ भएको छैन ।

यही मंसिर ७ गतेदेखि बेपता बर्दिबास नगरपालिका–१४ की ६ वर्षीया खातुनको शव सोमबार राति घर नजिकैको झाडीमा फेला प¥यो । बर्दिबास–१४ स्थित सामुदायिक परिवार कल्याण संघ महोत्तरीको कार्यालयभन्दा पश्चितर्फ विनोद साहको खाली जग्गाको झाडीमा कपडाको पोकोभित्र शव भेटिएको थियो । महोत्तरीका प्रहरी प्रमुख टीकाबहादुर केसीले अरोपित साहकै बयानका आधारमा बालिकाको शव फेला पारिएको बताए । मदिराको मातमा आफूले ती बालिकाको हत्या गरेको भनेपछि साहलाई उनकै परिवारले गौशाला प्रहरीको जिम्मा लगाएका थिए । गौशाला प्रहरीले बर्दिबास प्रहरीलाई बुझाएको थियो । प्रहरी स्रोतका अनुसार बयानमा साहले बालिकाको हत्या गरेको आरोप स्विकारेका छन् । बालिका हत्याको विरोधमा मंगलबार प्रदर्शनमा उत्रिएका बर्दिबासका स्थानीयमाथि सुरक्षाकर्मीले गोली चलाएपछि घाइते भएका तीनजनामध्ये एक सञ्जय भनिने बुद्धिराज न्यौपानेको मृत्यु भयो ।

साउन ३१ गते रौतहट गरुडाका २१ वर्षीय निरञ्जन राम सोही ठाउँस्थित लखन साहको घरमा बर्थडे पार्टीमा गएका थिए । पार्टीबाट फर्कने क्रममा निरञ्जनको हत्या भयो । हत्या आरोपमा विजयकुमार राम पक्राउ परे । गरुडा नगरपालिका–८ जिंगडिया गाउँको राम समुदायमा कक्षा ११ पढेका १९ वर्षीय विजयकुमार मात्र थिए । विजयकुमारले हिरासतमा आफू निर्दोष भएको दाबीसहित रिहा गरिदिन प्रहरीलाई बिन्ती गरिरहे । तर, प्रहरीले निरञ्जनको हत्या कबुल गराउन विजयकुमारलाई चरम यातना दियो । यातनाका कारण बिरामी परेका विजयकुमारलाई उपचारका लागि भदौ ८ मा वीरगन्जस्थित नेसनल मेडिकल कलेजको आइसियुमा भर्ना गरियो । उपचारका क्रममा १० गते विजयकुमारको मृत्यु भयो । विजयकुमारका मामाका छोरा निरञ्जन गरुडा–८ स्थित लखनको नर्सरीमा काम गर्थे । सोही नाताले उनी लखनको घरमा बर्थडे पार्टीमा गएका थिए । पार्टीबाट फर्कने क्रममा उनको घाँटी रेटेर हत्या गरिएको थियो । नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot