Logo

सोयाबिन तेलको निर्यात ४०६% बढ्यो



काठमाडौं,मंसिर १६ । पछिल्लो समय पहिलो निर्यातयोग्य वस्तु बनेको प्रशोधित भटमास (सोयाबिन) तेलको निर्यात चालू आर्थिक वर्ष (आव) कात्तिकसम्म ४०६ प्रतिशतले बढेको छ । व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रले हालै सार्वजनिक गरेको चाल आवको पहिलो चौमासिक प्रतिवेदनले यस्तो देखाएको हो ।

तथ्यांकअनुसार यस अवधिमा रू १० अर्ब २६ करोड ३४ लाख बराबरको प्रशोधित सोयाबिनको तेल निर्यात भएको छ । केन्द्रका अनुसार त्यो तेल भारततर्फ नै निर्यात भएको हो । गत आवको सोही अवधिमा भने रू २ अर्ब २ करोड ८३ लाखको सोयाबिनको तेल निर्यात भएको थियो ।

नेपालबाट निर्यात हुने वस्तुमध्ये शीर्षस्थान ओगटेको प्रशोधित पाम तेलमा भारतले गत वैशाखदेखि प्रतिबन्ध लगाएपछि अहिले त्यसको स्थान भटमास तेलले लिएको छ । तथ्यांकअनुसार चालू आवको शुरूदेखि नै प्रशोधित भटमासको तेल नेपालको पहिलो निर्यातयोग्य वस्तु बनेको हो ।

चालू आवको पहिलो चौमासमा रू ४० अर्ब २० करोड बराबरको विभिन्न वस्तु निर्यात भएको छ । त्यसमा सोयाबिन तेलले २५ प्रतिशत अंश ओगटेको तथ्यांकमा उल्लेख छ ।

गत आवमा नेपालबाट भारत निर्यात हुने वस्तुमा प्रशोधित पाम आयल अग्रस्थानमा थियो । आव २०७६र७७ मा नेपालबाट रू १८ अर्ब ३१ करोडको पाम आयल भारत निर्यात भयो । गत वैशाखको अन्तिम साता भारतको वैदेशिक व्यापार निर्देशनालयले पाम आयल आयातकर्ताको लाइसेन्स खारेज गरेपछि नेपालबाट यसको निर्यात ठप्प रहेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्