Logo

पशुपतिनाथ भक्तजनका लागि खुलेपछि (फोटोफिचर)



काठमाडौँ १ पुस। गत वर्ष चैत ११ गतेदेखि कोरोना भाइरसको सङ्क्रमणबाट बच्न बन्दाबन्दी जारी गरेदेखि बन्द रहेको पशुपतिनाथ आज बिहान छ बजेदेखि भक्तजनका लागि खुला गरिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर खुला गरिएको मन्दिरमा बिहान छ बजेदेखि नै भक्तजन आउन थालेका छन् । पुसको चिसोमा पनि सयौँ भक्तजन मन्दिर प्रवेश गरेर दर्शन गरेका छन्।

भक्तजनलाई दुई मिटरको दूरीमा लाममा राखी दर्शन गर्ने व्यवस्था मिलाइएको छ । भक्तजनले अनिवार्यरूपमा मास्क लगाउनुपर्ने व्यवस्था गरिएको छ। हाललाई मन्दिरको पश्चिम ढोकाबाट प्रवेश गरी दर्शनपछि पनि सोही ढोकाबाट फर्कने व्यवस्था मिलाइएको छ ।

नौ महिनापछि भक्तजनका लागि आजदेखि दर्शन गर्न खुला गरिने भएपछि मङ्गलबार राष्ट्रपति विद्यादेवी भण्डारीले क्षमासहित विशेष पूजा गरेकी थिईन् । कोरोना महामारीबाट मुक्ति, देश एवं विश्व शान्तिको सङ्कल्पसहित मूल मन्दिर, परिसरका देवीदेवताको पनि पूजा आराधना गरिएको थियो ।

तस्बिरः मुकुन्द कालिकोटे रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्

Screenshot