Logo

माधव नेपाल प्रचण्डको मामुली कार्यकर्ता हो : प्रधानमन्त्री ओली



काठमाडौं, १५ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले माधव कुमार नेपाललाई प्रचण्डको सामान्य कार्यकर्ता भएको टिप्पणी गरेका छन् । आज ओली समूहले आयोजना गरेको सुदूपरिश्चमस्तरीय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘माधव नेपाल प्रचण्डको मामुली कार्यकर्ता हो । मलाई पदको लोभ छैन भन्नुहुन्छ, तर उधारो मान्दिनँ । हाताहाती चाहियो भन्नुहुन्छ । आन्दोलन फुटाउनपनि दुई वटा तीन वटा अध्यक्ष चाहिन्छ ?।’

आफू बैशाखपछि प्रधानमन्त्री नरहने भनेर प्रचण्डले गरेको भविष्यवाणी कुनैपनि हालतमा नमिल्ने पनि उनको दाबी छ । उनले त्यस्तो भविष्यवाणी मिल्ने भए पहिले पनि मिल्नेथियो भन्दै व्यंग्य कसे,‘पोहोर म विरामी परें, मरिहाल्छु भने त्यो पनि मिलेन । बैंकक गएँ बाकसमा आउँछ भने, त्यो पनि मिलेन, हुन त म एक दिन मर्छु । मान्छे मरोस भन्ने कल्पना गर्नुहुँदैन, विरोधीको पनि स्वास्थ्यलाभको कामना गर्छु । अशक्त, रोगीसँग के लड्नु, खेल्न जानेकैसँग खेल्न मजा आउँछ । विरोधीको पनि सु–स्वास्थयको कामना गरिन्छ ।’ ओलीले दाहाल–नेपाललाई केही सिट ल्याउनुहोस भन्दै अहिलेदेखि नै चुनावको तयारीमा होमिन आग्रहसमेत गरेका छन् । उनले भने,‘अहिलेदेखि नै चुनावको तयारीमा लाग्दा केही सिट जितिन्छ, तर सडकमा बसेर कपडा नबिगार्नुहोस ।’

ओलीले प्रचण्डलाई धुँदाधुँदा धेरै साबुनका डल्ला र ड्रमका ड्रम पानी सकिएको कटाक्ष गरेका छन् । उनले आफू सहमतिको लागि सधैं तत्पर रहेको तर दाहालको ध्यान जहिल्यै कसरी पार्टी कब्जा गर्ने भन्ने रहेको जिकिर गरे । उनले भने,‘मैले मित्रताले हंगालो हाल्दा प्रचण्डजीले धृतराष्ट्रलले जस्तो अंगालो मार्नुभयो । षड्यन्त्रकारी राजनीति छाड्नुस्, धोका बेइमानी नगर्नुस् भनेर मैले तीन वर्षदेखि सम्झाए, यो तीन वर्षमा डोब साबुनका धेरै डल्ला खर्च भए, ड्रममा ड्रम पानी खतम भयो उहाँलाई धुँदाधुदा । साबुन लायो, पखाल्यो जस्तोको तस्तै । अन्तिममा देखिहाल्नुभयो के हुँदोरहेछ ।’

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

 



प्रतिक्रिया दिनुहोस्

Screenshot