Logo

नेपाल–भारत संयुक्त आयोगको बैठकः छलफलका विषयसूची तय



काठमाडौं, माघ २ । नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठक बिहीबारदेखि भारतमा सुरु भएको छ । अनौपचारिक रूपमा सुरु भएको बैठकको पहिलो दिन नेपाल र भारत दुवै पक्षले बैठकको पूर्वतयारीमा विविध कार्यसूचीका कार्यतालिका निर्माण तथा छलफलका विषयसूची तय गरेका छन् ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल दिल्ली उत्रिएलगत्तै दुवै देशका कार्यदलले बैठकको म्यान्डेटअनुसार काम थालेको मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बताए । उनका अनुसार औपचारिक रूपमा आमनेसामने बसेर बैठक सुरु नभए पनि बैठकमा हुने छलफलका विषयलाई त्यसको गाम्भीर्यताका आधारमा तहगत रूपमा व्यवस्थित गर्ने काम भएको छ ।

दुवै देशका प्रतिनिधिमण्डलले आफ्नो विषयसूची एकअर्कासँग मेल खाने गरी समसामयिक आधारमा बैठकमा प्रस्तुत गर्ने तयारी पहिलो दिन गरेका छन् । त्यसका लागि भारतका लागि नेपालका राजदूत निलाम्बर आचार्यले सहजीकरण गरेका छन्। उनले मन्त्री ज्ञवाली दिल्ली पुग्नुअघि पनि बैठकका लागि आवश्यक तयारी, सुरक्षा व्यवस्थासहित वातावरण निर्माण गर्ने कार्यमा सक्रियता जनाएक थिए । जसका लागि उनले बिहीबार नै भारतीय सुरक्षा संयन्त्रका उच्चाधिकारीसँग छुट्टै छलफलसमेत गरेका थिए।

परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय विदेशमन्त्री सुब्रमन्यम जयशङ्करले संयुक्त रूपमा अध्यक्षता गर्नै संयुक्त आयोगको औपचारिक बैठकमा नेपाल–भारतसँग सम्बन्धित बहुआयामिक विषयमा छलफल हुने प्रवक्ता लम्सालले जानकारी दिए ।

नेपालले व्यापार, पारवहन, ऊर्जा तथा जलस्रोत सीमा विवाद र वार्ताको वातावरण, पूर्वाधार विकासमा साझेदारी, दुई देशीय सम्पर्क सञ्जाल विस्तार, लगानीमैत्री सहकार्य, कृषिमा दुई पक्षीय सहयोग, पर्यटनमा साझेदारी तथा दुई देशबीचको सांस्कृतिक सहकार्यका विषयमा पनि बैठकमा दुई देशका प्रतिनिधिमण्डलले बृहत् छलफल गर्ने गरी आफ्नो कार्यसूची दुई दिनअघि नै सार्वजनिक गरेको छ । भारतले बिहीबार बिहान कार्यसूची तथा बैठकका विविध गतिविधिबारे औपचारिक रूपमा वक्तव्य सार्वजनिक गरेको छ ।

यस बैठकमा गत २०७६ मा नेपालमा भएको पाँचौँ बैठकको सहमति र समझदारीमाथि आत्मविश्लेषण गर्दै प्रगति र असफलताको सूची छुट्टाइनेछ । विभिन्न समयमा दुई देशबीच उठेका विवादका विषयका सम्बन्धमा पनि बैठकमा छलफल हुने जनाइएको छ । प्रबुद्ध व्यक्ति समूहको प्रतिवेदन, कोभिड खोपमा साझेदारीजस्ता विषयका महवपूर्ण सहमति हुने मन्त्रालयको अपेक्षा रहेको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्