Logo

पोखरेल दम्पत्तिको रहस्यमय मृत्यु



ललितपुर, ६ माघ । छोराबुहारीलाई फोनमा सम्पर्क गर्दा कुनै जवाफ नआएपछि बाबुले घरबेटीलाई खबर गर्छन् । घरबेटी ढोका ढकढकाउन पुग्छन् । तर, कोही बोल्दैनन् । झ्यालबाट हेर्दा महिला र पुरुष सुतेको अवस्थामा देख्छन् । तयसपछि प्रहरी कहाँ खबर पुग्छ ।

महालक्ष्मी नगरपालिकाको चाङ्गथलीमा सोमबार प्रहरी घटनास्थल पुग्छ । कोठामा पुगेर ढोका ढकढकाएर बोलाउँदा पनि नबोलेपछि फोडेर भित्र पस्छन् । जहाँ ३२ वर्षीय सागर पोखरेल र २२ वर्षीया निर्मला पोखरेललाई मृत भेट्छन् । उनीहरुको नजिकै सल्फस विषको बट्टा भेटिन्छ । भोमिट गरेको देखेपछि विष सेवन गरेको आशंका हुन्छ ।

घटनास्थलमा अपराध अनुसन्धानको टोली पुग्छ । प्रारम्भिक अनुसन्धानबाट आत्महत्या गरेको देखिन्छ । दम्पत्तिले भित्रबाट चुकुल लगाएर विष सेवन गरेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको प्रहरीले जनाएको छ । तर, यसबारे थप अनुसन्धान भइरहेको जनाइएको छ । आज पोष्टमार्टम भएको छ । रिपोर्ट आएपछि प्रहरीले थप अनुसन्धान गर्ने जनाएको छ ।

पोखरेल दम्पत्ति दुवै मिलेमतोमा आत्महत्या गर्न पुगेका हुन् या कुनै एकले विष पिलाएर आफूले पनि पिएको हो भन्नेबारे प्रहरी अनुसन्धान केन्द्रित रहेको बुझिएको छ । घटनामा तेस्रो व्यक्तिको संलग्नताबारे पनि अनुसन्धानको दायरा रहेपनि सम्भावना कम रहेको विश्वस्त स्रोतले जानकारी दिएको छ ।

पोखरेल दम्पत्तिले पाँच महिना अघिमात्र विवाह गरेका थिए । उनीहरु फ्ल्याटमा बस्दै आएका थिए । सागरका पिता सेवानिवृत्त कर्मचारी हुन् । घटना भएको बखत बाबुआमा बालकोटस्थित छोरीको घर गएका थिए । त्यही बेलामा उनीहरुले आत्महत्या गरेको पत्ता लाग्छ ।

भेटनरी सामान सप्लायर्सको काम गर्ने सागर राजविराज स्थायी घर भएका हुन् । नवविवाहित सागर पोखरेल र निर्मला पोखरेलले आत्महत्या गरेका हुन् भने किन आत्महत्याको निर्णयसम्म पुगे भन्नेबारे प्रहरी अनुसन्धान केन्द्रित रहेको बुझिएको छ ।-सांकेतिक तस्बिर

 



प्रतिक्रिया दिनुहोस्