Logo

मार्क्सवादीबाट अध्यात्मवादी बन्दै गरेका ओलीको पशुपतिनाथ दर्शनको सन्देश



समाचार विश्लेषण । प्रधानमन्त्री केपी शर्मा ओलीले श्री पशुपतिनाथको दर्शन गरेका छन् । पत्नी राधिका शाक्यसहित उनी माघको सोमबार पारेर पशुपतिनाथको दर्शनका लागि विहानै पुगेका थिए ।

मार्क्सवादले धर्मलाई अफिम भन्छ । तर, ओली धर्ममा कट्टर बन्दै गएका छन् । उनको अभिव्यक्ति धर्मगुरुको जस्तो सुनिन थालेको छ । कम्युनिस्ट नेता नास्तिक हुन्छन् भन्ने मान्यता रहेकोमा ओलीले पशुपतिनाथको दर्शन गर्नुलाई अर्थपूर्ण मानिएको छ । उनले पछिल्लो समय आध्यात्मिक विचारहरुलाई बढी जोडबल दिइरहेका छन् । ओलीले पशुपतिनाथको दर्शन गरेर महत्वपूर्ण सन्देश दिन खोजिरहेका छन् ।

नेकपा विभाजनपछि धर्मलाई हेर्नेबारे दुई समूहको फरक दृष्टिकोण आइरहेको छ । प्रचण्डले सार्वजनिक रुपमै ओलीले धर्मनीरपेक्षता सिध्याउन खोजेको बताइसकेका छन् । उनले ओलीले गणतन्त्र र संघीयता समेत ध्वस्त पार्न खोजेको आरोप लगाइरहेका छन् । ओलीले अध्यात्मिक विषयलाई जोडतोडले उठाइरहनुले प्रचण्डको आरोपलाई बल पुगेको छ । कतिपयले ओलीको आध्यात्मिक अभिव्यक्ति हिन्दु धर्मगुरुको जसरी आउन थालेको बताइरहेका छन् । उनी ऋषिमुनीका कुरा गर्छन्, पूर्वीय दर्शन र चिन्तको कुरा गर्छन् । यो कुनै ऐतिहासिक कदम चाल्ने गरी ओलीको जमर्कोका रुपमा समेत लिन थालिएको छ ।

नेकपाको अर्को समूह प्रचण्ड भने धर्मनीरपेक्षताको पक्षपाती हुन् । उनकै बलले संविधानमा धर्मनीरपेक्षता लेखिएको छ । यसलाई ओलीले मन पराएका थिएनन् भन्ने विश्लेषण पनि भइरहेको छ । ओलीले गणतन्त्र र संघीयताको पक्षमा आफू रहेको बोलेपनि धर्मनीरपेक्षताबारे मुख खोलेका छैनन् । यो आफैमा अर्थपूर्ण छ ।

ओलीले प्रतिनिधि सभा विघटन गरेर निकै आलोचना खेपिरहेका छन् । उनको लोकप्रीयता घटेको छ । तर, केही हप्ता अघि जीन्युजका सुधीर चौधरीलाई अन्तवार्ता दिंदा उनले इतिहास र धर्म संस्कृतिको विषयमा जसरी बोले त्यसले फेरि लोकप्रीयता बढायो । यसलाई ओली पक्षले लिट्मस टेष्टका रुपमा लिएको छ । देशमा धर्मको मुद्दा महत्वपूर्ण भएको भेउ पाएका ओलीले यसैलाई पक्रन खोजिरहेको संकेत पनि देखिन्छ ।

पछिल्लो समय ओलीको धार्मिक कार्यक्रममा सहभागिता पनि बढेको छ । उनले केही हप्ता अघि मात्र किर्तिपुरस्थित बुद्ध धर्मालम्बीको गुम्बामा पुगेर बोले । धर्म संस्कृतिको कुरा गरे । आज पशुपतिनाथको मन्दिरमा पुगेर दर्शन गरे । उनको आजको पशुपतिनाथ यात्राले निकै चासो पाएको छ । उनले आफूलाई नास्तिक नभई आस्तिक देखाउन खोजेका छन् । कम्युनिस्टहरु नास्तिक हुन्छन् भन्ने मान्यतालाई गलत देखाउन खोजेका छन् ।

नेपाली काँग्रेसका नेता अमरेश सिंहले ओलीले विगतमा तत्कालिन भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख राम माधवलाई भेटेर हिन्दु राष्ट्र ल्याउने प्रतिवद्धता गरेको खुलासा गरेका थिए । उनले ठोकुवाका साथ ऋषि धमलासँग प्राइम टाइम्स टेलिभिजनको अन्तवार्तामा यो विषय उठाएका थिए । यसबारे ओली र उनका निकटस्थ कसैले बोलेका छैनन् । ओलीको पछिल्लो भुमिकाले अमरेशको दाबालाई बल पुगेको छ ।

ओलीले आफूविरुद्ध फालिएका सबै अस्त्रलाई अनेक अस्त्रले असफल बनाइसकेका छन् । अब उनीसँग धर्मको मुद्दा पनि अस्त्रका रुपमा बाँकी छ । ओलीले विगतमा सबैभन्दा बढी आलोचना गरेका प्रचण्डसँग पनि हात मिलाइएको इतिहास छ । उनले कुनैपनि बेला धर्मको मुद्दालाई नउठाउलान् भन्न सकिदैन । ओलीको आध्यात्मिक विषयले भरिएको अभिव्यक्तिहरु र पछिल्लो समयको पशुपतिनाथको यात्राले यस्तै संकेतहरु देखिनथालेको छ ।-तस्बिर: मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्

Screenshot