गलकोट, १९ माघ: प्राधिकरणले विद्युत्को पहुँच पुगेरसमेत मिटर खरीद गर्न नसकी अन्धकारमा बस्दै आएका विपन्न परिवारलाई निःशुल्क विद्युत् मिटर बक्स वितरण गर्दै आएको छ । गाउँमा विद्युतकीकरण भइसक्दासमेत मिटर बक्स खरीद गर्न नसकी छिमेकीबाट विद्युत् लिएर बाल्दै आएका र अन्धकारमा बस्दै आएका परिवारलाई नेपाल विद्युत् प्राधिकरणले सामाजिक उत्तरदायित्वअन्तर्गत निःशुल्क विद्युत् मिटर वितरण गर्दै आएको प्राधिकरणको बागलुङ वितरण केन्द्रले जनाएको छ ।
प्राधिकरणले यही आर्थिक वर्षको पुस मसान्तसम्म २०८ परिवारलाई निःशुल्क मिटर बक्स वितरण गरेको गोशलीले जानकारी दिनुभयो । प्राधिकरणले बिहीबार मात्रै गलकोट नगरपालिका–४ स्थित चमुवा र नुवाकोटका १६ घर परिवारलाई निःशुल्क विद्युत् मिटर वितरण गरेको छ । “गलकोटमा विसं २०६८ देखि केन्द्रीय विद्युत् पुगे पनि विद्युत् मिटर राख्न नसकेका विपन्न परिवारलाई विद्युत् मिटर वितरण गरेका छौँ”, गोशलीले भन्नुभयो, “वडा कार्यालयले विद्युत् पुगेर पनि मिटर खरीद गर्न नसक्नेको सिफारिस दिएमा निःशुल्क मिटर वितरण गर्दै आएका छौँ ।” मिटर माग गर्न विद्युत् प्राधिकरणको वितरण केन्द्रमा समेत आउन नसक्ने र विद्युत् मिटर खरीद गर्न नसक्नेलाई निःशुल्क मिटर वितरण गरिँदै आइएको छ ।
सेवाग्राहीले विद्युत् मिटर खरीद गर्दा रु तीन हजार ४०० लाग्ने गर्दछ । सेवाग्राही वितरण केन्द्रमा आउने जाने सबै खर्च जोड्दा झण्डै पाँच हजार लाग्ने भए पनि वितरण केन्द्रले निःशुल्क मिटर दिँदा सेवाग्राहीको झण्डै पाँच हजार रकम बचत हुनेछ । अहिले प्राधिकरणले १० युनिट मात्रै विद्युत् खपत भएमा महशूल शुल्क निःशुल्क गरेको छ ।-रासस/File Photo