Logo

धमाधम चुनावलक्षित शिलान्यास



काठमाडौं, फागुन १० । प्रतिनिधिसभा विघटन गरेर निर्वाचन घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओली सोही चुनावलाई लक्ष्य गरेर दैनिक रूपमा विकास आयोजनाको उद्घाटन र शिलान्यास गर्दै हिँडेका छन्। प्रधानमन्त्री ओलीले सोमबार सुदुरपश्चिम प्रदेशको कञ्चनपुर दैजी–छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्ने कार्यक्रम छ।

स्वदेशी उत्पादन वृद्धि गरेर औद्योगिकीकरण गर्ने भन्दै सरकारले मुलुकका विभिन्न प्रदेशमा पाँचवटा औद्योगिक क्षेत्र निर्माण गर्न लागेको छ। करिब एक खर्ब लागतमा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले औद्योगिक क्षेत्र निर्माण अघि बढाएको हो। सोमबार प्रधानमन्त्रीले कञ्चनपुरमा शिलान्यास गर्ने दैजी–छेला औद्योगिक क्षेत्रको लागत आठ अर्ब रूपैयाँ छ।

यसै साता अन्य चार औद्योगिक क्षेत्रको प्रधानमन्त्री ओलीसहित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, अर्थमन्त्री विष्णु पौडेलले शिलान्यास गर्ने कार्यक्रम छ। पाँचवटा औद्योगिक क्षेत्रको निर्माण सुरु गर्न लागेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका निर्देशक दिलीप महर्जनले बताए। ‘पाँचवटै औद्योगिक क्षेत्रको डिपिआर तयार गरेर निर्माण सुरु गर्न लागेका हौं,’ महर्जनले भने, ‘पाँच वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य छ।’

‘आर्थिक विकासको लागि औद्योगिक पूर्वाधार, समृद्ध नेपाल सुखी नेपालीको आधार’ नारा सहित औद्योगिक क्षेत्र निर्माण अघि बढाइएको छ। कञ्चनपुर सहित लुम्बिनी प्रदेशको बाँके नौबस्तामा आठ अर्ब, रूपन्देही मोतिपुरमा १३ अर्ब, बाग्मती प्रदेशको मकवानपुरमा पर्ने मयुरधापमा आठ अर्ब र झापाको दमक–कमल–गौरादहमा ६४ अर्ब रूपैयाँ लगानीमा औद्योगिक क्षेत्र निर्माण अघि बढाउने योजना छ।

दुई औद्योगिक क्षेत्र विदेशी लगानी र तीनवटा सरकारको लगानीमा निर्माण गर्न लागिएको निर्देशक महर्जनले बताए। ‘झापाको औद्योगिक पार्क चीनको सहयोगमा निर्माण सुरु भएको छ,’ उनले भने, ‘रूपन्देही मोतिपुर औद्योगिक क्षेत्र निर्माणका लागि विदेशी लगानीको खोजी भइरहेको छ।’

झापाको औद्योगिक क्षेत्र दक्षिण एसियाकै आधुनिक हो। एक हजार ६ सय हेक्टरमा बन्ने सो औद्यगिक पार्कको निर्माण चार चरणमा सम्पन्न हुनेछ। पहिलो चरणमा ६४ अर्ब लगानी हुनेछ। सो औद्योगिक पार्क काम, आराम, मनोरञ्जन र संस्कृतिका दृष्टिले समेत दक्षिण एसियामै उत्कृष्ट हुने बताइएको छ।

औद्योगिक पार्क निर्माणका लागि नेपाल लगानी बोर्ड र दमक क्लिन इन्डस्ट्रियल पार्कबीच समझदारीपत्रमा हस्ताक्षर भई काम हुँदै आएको छ। पार्कमा चीनको ल्हासा इकोनोमिक एन्ड टेक्निकल डिपार्टमेन्ट र जोन जिङपिङ क्रियसन कन्सट्रक्सन कम्पनीको लगानी छ। औद्योगिक क्षेत्र सञ्चालनमा आएपछि ५२ हजार रोजगारी सिर्जना हुने अपेक्षा छ। अर्थ मन्त्रालयले बजेट उपलब्ध गराउने प्रतिबद्धतापछि परियोजना अघि बढाएको लिमिटेडले जनाएको छ। औद्योगिक क्षेत्रहरू बहुवर्षीय परियोजना हुन्। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot