Logo

सर्वोच्चको फैसलामा न्यायिक पूनरावलोकनमा जान्छौं : श्रेष्ठ



काठमाडौं, २४ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले सर्वोच्चको फैसला अनुसार नेकपा एमाले र नेकपा माओवादी केन्द्र अलग अलग हुने निर्णय आजको स्थायी कमिटी बैठकले गरेको स्पष्ट पारेका छन् ।  आज (सोमबार) पेरिसडाँडामा बसेको उक्त समूहको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको उनले जनाए ।

त्यस्तै, उनले सर्वोच्चको फैसलाबारे न्यायिक पूनरावलोकनमा जानेपनि निर्णय भएको जानकारी दिए । उनले भने,‘आजको बैठकले सर्वोच्चको फैसलाबारे गम्भीर छलफल गर्यो । रिट निवेदकको माग दाबी भन्दा बाहिर गएर गरेको राजनीतिक फैसला हो यो, नामका बारेमा निश्कर्ष निकाल्नुपर्ने, आदेश गर्नुपर्ने, तर त्यो भन्दा बाहिर गएर फैसला गरिएको छ । रिट निवेदकअनुसार फैसला भए हामीले स्वागत नै गर्ने थियौं । एकीकृत पार्टीलाई विभाजन गर्ने फैसला आयो, त्यसप्रति गम्भीर असहमति छ । गलत छ । अनुपयुक्त छ भन्ने निश्कर्ष निकाल्यौं ।’

कानूनी ढंगले पनि एमाले र माओवादी केन्द्र अलग अलग हुने निर्णय गरेको सुनाउँदै आगामी दिनमा पनि समाजवादको दिशामा बढ्नेबारे छलफल भएको श्रेष्ठले जनाए । उनले भने,‘वामपन्थी एकताको पहललाई जारी राख्छौं । समृद्ध नेपाल बनाउँछौं । सर्वोच्च अदालतले फैसला गरेबमाजिम । फैसलाप्रति गम्भीर असहमति व्यक्त गर्यौं । अदालतले भनेअनुसार एमाले र माओवादी केन्द्र बन्ने नै भयो । हामी न्यायिक पूनरावलोकनमा जाँदैछौं । पार्टी एकता उद्देश्य सही थियो । यो पहलकदमी जारी राख्छौं । यो चरणको बैठक अन्तिम हो । नयाँ निर्णय भयो भने अर्को कुरा, नयाँ ढंगको एकीकरण । तत्काल अदालतको फैसला कार्यान्वयन गर्छौं । निर्वाचन आयोगमै गएर अदालतको फैसला कार्यान्वयन गर्छौं ।’

प्रधानमन्त्री ओलीलाई दिएको समर्थन फिर्ता लिने पनि उनले संकेत गरे । उनले भने,‘राजनैतिक नैतिकताको कोणबाट पनि, ओलीको कदम असंवैधानिक ठहर भयो । उहाँले राजीनामा दिनुपर्ने थियो । बाध्यात्मक अवस्था छ । त्योबारेमा हामी छलफल गर्दछौं । अदालत भगवान होईन् । सर्वोच्चको फैसला आँफैपनि कार्यान्वयनको लागि चूनौतिपूर्ण छ ।’File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्