Logo

महबाट २० लाख आम्दानी



बाँके, ३ चैत : कोहलपुर नगरपालिका–६ बस्ने लीलबहादुर राणाका बाबुछोरा आजकाल मौरी चराउन बर्दियामा रहेको भोलागौडीको जङ्गलको छेउमा आधार चाका दिन व्यस्त छन्। कोहलपुर नगरपालिका–६ निवासी राणा र उनका कान्छा छोरा घनश्याम १७५ घर मौरीलाई गाडीमा ल्याएर बढैयाताल गाउँपालिका, भोलागौडी गाउँको जङ्गल छेउमा दिनभर चराउन हुन्छ । मौरीहरुको आधार चाका हेरचाह गर्दै उहाँहरुको दिनचर्या बित्छ ।

मौरीलाई आधार चाका दिँदा वर्षमा रु एक लाखको दुई क्विन्टल दिने गरेको लीलबहादुरले बताए । त्यसैगरी वर्षमा चिनी रु दुई लाखको दिने गरिएको छ । गाडीमा राखी ठाउँठाउँमा चराउँदा ढुवानी खर्च वर्षमा रु पाँच लाखसमेत लागेको राणाले बताए ।

तराईको गर्मीमा हुने मेली फेरा नामक मौरी तराईको ४० डिग्री गर्मीमा समेत बाँच्न सक्छ । आजकाल प्रतिकेजी रु ६०० मा बिक्री हुन्छ । कोहलपुर र नेपालगञ्जमा मह उत्पादन गरी बिक्री गर्नेमा सफल नाम राणाको परिवारको छ । नौजनाको परिवार मह बेचेर चलाएको राणाले बताए । त्यही मौरीले दिएको मह वर्षमा ४० क्विन्टल उत्पादन गरी रु २० लाख आम्दानी हुने गरेको छ । उनीमौरीपालनमा लागेको १० वर्ष भयो । आफूहरुको मेहनत देखेर आफूहरुलाई नेपाल सरकारले गत वर्ष रु १४ लाख अनुदान कृषि ज्ञान केन्द्र बाँकेमार्फत मौरीपालन गर्न दिएको राणाले बताए । यस वर्ष पनि रु १० लाख अनुदान मौरी पकेट कार्यक्रम कोहलपुर नगरपालिकाले र कृषि ज्ञान केन्द्र बाँकेले दिएका छन् ।

विसं २०७१ मा जिआई जेटले जनकल्याण बहुउद्देश्यीय सहकारी संस्थाको सदस्य हुँदा आफूहरुलाई मह प्रशोधनका लागि घर निर्माण गर्न र यन्त्रका लागि रु १० दश लाख अनुदान रकम दिएकाले साहस बढेको राणाले बताए । मौरी पकेट कार्यक्रम कृषि ज्ञान केन्द्र बाँकेले तीनवर्षे मौरी पकेट अनुदानसमेत दिएको छ ।

राणा सञ्जीवनी मौरी फार्मको सञ्चालकसमेत बनेका छन् । “गरे के हुँदैन, अहिले रुदिलो, सिसौको फूलहरु भएको ठाउँमा मौरी लिएर चराउँदै व्यस्त हुन्छौँ”, बाबुछोराले हाँस्दै भने, “विदेश किन जाने, विदेशभन्दा नेपालमै पनि पैसा कमाउन सकिन्छ । हामी त मौरीमा रमाउँछौँ । कात्तिकदेखि माघमा तोरीको फूलको रस खान्छन् मौरीले, माघफागुनदेखि वैशाखसम्म रुदिलो झारीको फूलको रस र सिसौको फूलको रस अनि वैशाखजेठसम्म जामुनको फूलको रस खान्छन् ।”

उनीहरु कहिले राजापुर कहिले ठाकुरद्वारा र कहिले बाँसगढी दुई महिना दुई महिनामा ठाउँ सर्छन। जेठदेखि असोजसम्म चिनी दिएर मौरी बचाउनुपर्छ । उनीहरु त्यस समयमा घरमा लगेर मौरी राखे । राणाले भने, “४० डिग्री तापक्रम सहन सक्ने क्षमता हुन्छ मेली फेरा मौरीको । मौरी रहेको धर्तीमा खेती राम्रो सप्रने उनले बताए ।

मौरी प्रकृतिमैत्री जीव हो जसले प्रकृतिको रक्षा गर्छ र अन्न उत्पादनमा सुधार हुन्छ । अहिले महको बजारीकरण सजिलो भएको र प्राङ्गारिक मह भनेर धेरैले घरैमा लिन आउने गरेको राणाले बताए । राणाले भने , “चितवन, दाङ र सुर्खेतदेखि मौरीपालन व्यवसायीहरु मौरी चराउन बर्दिया आउँछन् ।”

बर्दिया मेली फेरा मौरीका लागि अति उत्तम ठाउँ हो । अरू किसानलाई पनि सरकारले अनुदान दिएर सहयोग गरेमा मौरीपालनमा घाटा नहुने उनले बताए । तरकारी, अन्नपात जस्तै मह नकुहिने र बिक्री नभएमा तापक्रम मिलाएर राखेपछि अर्को वर्ष पनि बिक्री भइहाल्ने गरेकाले यस पेशामा लाग्न राणाले आग्रह गरे । उनले भने, “तर ल्याब टेष्ट नगरी मह बिक्री गर्न दिंदै । भारतको मह नेपाल आउँदा सरकारले जाँच गर्नुपर्छ ।”-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot