Logo

यसरी आउनसक्छ प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव



काठमाडौं, ५ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूविरुद्धको घेराबन्दी केही दिनभित्र तोड्न नसके सत्ताबाट हट्नुपर्ने निश्चितप्रायः भएको छ । अविश्वासको प्रस्ताव अबको १० दिनभित्र आउने सार्वजनिक रुपमा नेपाली काँग्रेसका महामन्त्री डा. सशांक कोइरालाले बोलिसकेका छन् । अब ओलीविरुद्ध अविश्वासको प्रस्तावको तयारी अन्तिम चरणमा पुगेको बु्झिएको छ । योसँगै ओली अब घेराबन्दी तोड्ने अन्तिम अस्त्र फाल्न सक्रिय भएका छन् ।

सिन्धुली पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज विहानै ओलीलाई जुनसुकै हालतमा हटाउने बताए । उनको यो भनाईले अब कुनै हालतमा ओलीसँग सहकार्य नहुने सन्देश प्रवाह गरेको छ । प्रचण्डले ओलीको ‘असंवैधानिक कदम’ विरुद्ध संघर्ष गरेका शक्तिबीच समिकरण बन्ने समेत बताए । काठमाडौंमा पुगेपछि ओली हटाउन लाग्ने प्रचण्डको भनाईले पनि अविश्वासको प्रस्तावको संकेत गरेको छ ।

ओलीविरुद्ध अविश्वासको प्रस्ताव आउँदा नेकपा एमालेबाहेकका दलहरुको समिकरणबाट सम्भावना देखिएको छ । नेपाली काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीको आन्तरिक एकता समेतको अवस्थामा अविश्वासको प्रस्ताव आउनसक्छ । तर, तीन दलमध्ये प्रधानमन्त्रीको प्रस्तावित उम्मेदवार को हुने यकिन छैन ।

काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको प्रस्ताव गरी अविश्वासको प्रस्ताव आउनसक्छ । तर, प्रवक्ता विश्वप्रकाश शर्माले गणितीय रुपमा सिंगोसिंगो दलहरु रहेर सुनिश्चित ढंगले काँग्रेस पार्टीलाई नै प्रस्ताव गरेको अवस्था बन्नुपर्ने बताएका छन् । यसबाट काँग्रेस अझै ढुक्क बन्न नसकेको देखिन्छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको दौडमा नरहेको बताइसकेका छन् । उनी जसरी पनि ओलीको बर्हिगमन चाहन्छन् । प्रचण्ड देउवा या जसपा नेतामध्येबाट प्रधानमन्त्री समर्थन गर्न तयार छन् ।

जसपाबाट अध्यक्ष महन्थ ठाकुर र संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई प्रधानमन्त्रीको दौडमा छन् । उनीहरु दुईमध्ये एक नाममा सहमति बनेर पनि अविश्वासको प्रस्ताव आउन सक्छ । त्यसका लागि देउवाको समर्थन जरुरी हुनसक्छ ।

प्रतिनिधि सभामा काँग्रेस, माओवादी केन्द्र र जसपाको गणित अविश्वासको प्रस्ताव पारित गर्न पर्याप्त छ । तर, ती दल सग्लै हुनुपर्ने र फ्लोर क्रस नहुने अवस्था हुनुपर्छ ।
प्रतिनिधिसभामा काँग्रेसले प्रयोग गर्न सक्ने ६३ मत मध्ये ६२ मत छ । माओवादी केन्द्रको ५१ मतमध्ये ३ मत एमालेमा पुगेको छ । जसपाको ३४ मध्ये ३३ मत प्रयोग हुनसक्छ । प्रयोग गर्न पाउने मत यताउता नभए १४४ मत पुग्छ । जुन प्रतिनिधिसभाको २६५ सांसद संख्याको बहुमत संख्या हो । गणित यथास्थितिमा रहेर तीन दलको समिकरण बनेमा अविश्वासको प्रस्ताव आउन सक्छ ।

तीन दलमध्ये कुनै एक दलमात्र विभाजित भएमा भने अविश्वासको प्रस्ताव असफल हुन्छ या अविश्वासको प्रस्ताव नै रोकिन्छ । अविश्वासको प्रस्ताव असफल भएमा ओली अर्को एक वर्ष सत्तामा ढुक्कले रहन्छन् ।

तीन दलमध्ये कुनै एक दल फुटेको अवस्थाबीच एमालेको मत यताउता भएपनि अविश्वासको प्रस्ताव पारित हुनसक्छ । तर, ह्वीप लगाइसकेको अवस्थामा त्यस्तो कदम चालेमा सांसद पद स्वतः जाने व्यवस्था छ ।

प्रतिनिधि सभाको अंकगणितले अविश्वासको प्रस्ताव ल्याउन आफैमा जोखिम छ । कुनै एक दलको बहुमत नपुग्दा अर्को दलको साथ लिनुपर्ने अवस्था छ । तर, सत्ता समिकरणले दलहरुको एकता नै धरापमा पर्ने जोखिम पनि छ । यसकारण पनि दलहरु निकै संयमित भएर सुस्तरी बढिहरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot