Logo

अब केपी ओलीजी धेरै समय प्रधानमन्त्री रहनुहुन्छ जस्तो लाग्दैन् : वर्षमान पुन



नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य, सांसद तथा पूर्वमन्त्री वर्षमान पुनले सरकारलाई दिएको समर्थन चाँडै फिर्ता लिने स्पष्ट पारेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।  उनले प्रधानमन्त्री ओली अब धेरै समय प्रधानमन्त्री नरहने पनि स्पष्ट पारेका छन् । प्रस्तुत छ नेता पुनसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

तपाईँहरूले सर्मथन फिर्ता लिनसक्नु भएन नि किन ? के कारणले ? समस्या कहाँ छ ?

हामी चाँडै फिर्ता लिन्छौ ।

कति दिनभित्र फिर्ता लिनुहुन्छ, आज खुलासा गर्नुहोस ?

सर्वोच्च अदालतले जो पछिल्लो फैसला गरेर नेकपा माओवादी केन्द र एमाले भैसकेपछि तत्कालै फिर्ता लिँदा त्यो प्रतिशोधजस्तो र हतार गरेजस्तो हुन्थ्यो, अब चाहीँ हामी तपाईँको आफ्नो बहुमत जुटाउनुहोस् होईन भने राजिनामा दिने अवस्था बन्छ, हामी छिट्टै फिर्ता लिन्छौँ भनेका छौं ।

कहिल र कति दिनभित्र फिर्ता लिनुहुन्छ ? खुलासा गर्नुहोस न ?

त्यसको लागि हामी पार्टीमा छलफल गर्छौं । धेरै हतारो त छैन किनभने किन हतारो गर्ने ? हामी आफनो पार्टीको काममा लागेका छाँै । दुई पार्टी अलग–अलग गरिदिसकेपछि हामीले माओवादी केन्दको केन्द्रीय कमिटीको बैठक बस्यौं । जिल्ला कमिटीहरु निर्माण गरिराखेका छौ । विभिन्न तहका पार्टी कमिटीहरु निर्माण गरिराखेका छौँ । युवा, महिला र विद्यार्थीलगायतका हाम्रो संगठनहरु विगतका संगठन पूनःस्थापना गर्ने र प्रशीक्षण कामहरु गरिराखेका छौँ । त्यसो गर्दा हामी खासमा आन्तरिक काममा अल्झिएका छौँ । अहिले नै सरकारको बारेमा धेरै चिन्ता र सरकारलाई दिएको समर्थन फिर्ता लिने समय त हामीले पाएका छैनौं । यद्धपी यसमा छलफल चलिराखेको छ ।

तपाईँहरुले भनिराख्नुभएको थियो–संसद् पूनःस्थापनापछि हामी केपी ओलीलाई परास्त गर्छौं, तर अहिलेसम्म हटाउन सक्नुभएको छैन । यसको रहस्य के हो ? खुलस्त पार्नुहोस् ?

उहाँले संविधान मिचेपछि लोकतन्त्रमाथि घात गरेपछि हामीहरु सडकमा गयौं । तपाईँ मिडियाकर्मी सार्थीहरुले पनि यसको विरोध गर्नुभयो । नागरिक समाजले पनि विरोध गर्नुभयो । यसैगरि पार्टीहरुले विरोध गर्नुभयो । यो जनमतलाई कदर गर्दै संविधानको अक्षरंश र भावनाअनुसार सर्वोच्च अदालतले फैसला गर्यो । त्यसपछि उहाँ स्वतः राजीनामा दिएर हिड्नुपर्ने हो । उहाँको लागि यो संसद् छैन । उहाँले त मारिसक्नुभयो । मरेको संसद्को अहिलेपनि मसंग बहुमत छ या मैले त्यसको सामना गर्छु । या बहुमत जुटाउँछु भन्ने कुरा मोरल या लजिकल ग्राउण्ड छैन । यद्धपी हामीले, स्वाभाविक रुपले संविधान मिचिएको कुरा करेक्सन भैसकेपछि । त्यसकाविरुद्ध जो संघर्ष गर्ने हो । त्यो पार्टीहरु एकठाँउमा बसेर यो दुई वर्षको लागी विकास समृद्धि सुशासन दिने जिम्मेवारी हो त्यसको लागि हामी जिम्मेवारी पुरा गर्छाैँ ।

तर प्रधानमन्त्रीले त ‘मलाई हटाउने तागत कसैको छैन्, म संसद् फेस गर्छु भनिरहनुभएको छ’ तपाईँहरु केही पनि गर्न सक्नुहँुदैन्, तपाईँहरु कति कमजोर हुनुभएको ?

कमजोर होईन, यसमा के हो भने प्रतिपक्ष दलको हिसाबले काँग्रेसले अगाडि बडढनुपर्ने हो । किनभने हामी सरकारमा थियौं । मोरल्ली हामीले सरकारको बारेमा धेरै गर्दा त्यति राम्रो देखिँदैन । किनभने हाम्रो पार्टीका अध्यक्ष हाम्रो दलका नेता तीन वर्षको लागि हामीले सर्मथन गर्दै बसेको जो प्रतिपक्ष दल हुन्छ । उ वेटिङ गभर्मेन्ट हो । अर्थात् दलको नेता वेटिङ प्रधानमन्त्री हो । यसमा उहाँहरुको हक लाग्ने हुन्छ स्वभाविक रूपमा मैले भनेको कुरा के हो भनेपछि असंवैधानिक, अलोकतान्त्रीक कदम सच्चिएपछि अविश्वासको प्रस्ताव कि कुनै बाटोबाट अपोजिसनले बाटो खोज्नस पर्ने हो त्यसमा हामी समर्थन गर्छौ भनेकै छौँ ।

आजको दिनमा माओवादी केन्द्र त सत्तारूढ दल नै हो नि, होईन ?

कानूनी रुपमा हामी सत्तारूढ दल हौं । राजनीतिक हिसाबले प्रभानमन्त्रीसंग मतभेद छ । उहाँले गरेका काम बेठिक छन भनेका छौँ । त्यसैले व्यवहारिक रूपले हामी अपोजिसन जस्तो छौं ।

सरकारले धमाधम निर्णय गरिरहेको छ, अनि तपाईंको पार्टी चुप लागेर बसेको छ, प्रधानमन्त्री ओलीसंग किन डराउनुभएको हो ?

हामीहरुलाई केही कुराको पनि डर छैन । यसमा काँग्रेस जसपा र हाम्रो दलको बीचमा वैकल्पिक सरकारको लागि केही कुराहरु अगाडि बढेका छन् । यद्धपी मैले अघिपनि बताएँ–सर्वोच्चको फैसला पनि अनुचित फैसला आयो । तीन वर्ष पहिले नै विसर्जन गरिसकेको माओवादी खोज्नुपर्नेमा हामी अलि अल्झिएका छौँ । अर्कोतिर ,चाहीँ संवैधानिक बेन्चको फैसलापछि त नेकपाभित्रको अन्तरसंर्घष थियो । प्रचण्ड र माधव समुहको रुपमा थियो । एउटा रणनीति बनाइएको थियो । संसद् र सरकरमा धेरै विषयहरु वनाएको थियो । त्यो त भत्कियो फेरि नयाँ रणनीति त गर्नुुपर्ने हुन्छ । यसर्थमा हामी एकातिर एमाले कसरी जान्छ हेरिराखेका छौँ । अर्कोतिर काँग्रेस कसरी प्रो–एक्टीभ हुन्छ । सरकार बनाउनको लागि कसरी अगाडि बढ्छ भन्ने कुरापनि हामी हेरिराखेका छौँ । यो सबै हेर्दा पछिल्लो समयमा अब ओलीजी धेरै समय प्रधानमन्त्री रहनुहुन्छ जस्तो लाग्दैन ।

 

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot