Logo

महोत्तरीमा वैशाखमै खानेपानीको हाहाकार, जेठमा के होला ?



महोत्तरी, ७ वैशाख । “लाग्दो वैशाखमै यो हाल छ, जेठको प्रचण्ड घाममा के होला ? ” खानेपानीको धाराबाट पानी झर्न छाडेपछि दिक्क हुँदै महोत्तरीको बर्दिवास नगरपालिका–२ बुद्धचोककी गृहिणी गायत्री आचार्यले भने, “खै यसपालि त निको चाल छैन ।”

गायत्रीमात्र नभएर लाग्दो वैशाखमै धाराको टुटीबाट पानी झर्न छाडेपछि यस भेगका आम गृहिणी विलखबन्दमा परेका छन् । खानेपानीका लागि धारा, इनार, खोल्सीको जरुवा र चापाकल स्रोत रहँदै आएका १४ वडामा विभाजित बर्दिवास नगरपालिकाका लगभग सबै क्षेत्रमा अहिले हाहाकार मच्चिएको छ । “हेर्नोस् न, जताततै ढकमक्क कमल फुलेका तलाउ हेर्दाहेर्दै सुके, अहिले त कमल फुल्ने तलाउमा कमिला पो हिँड्न थाले”, बर्दिवास–४ माईस्थानस्थित पञ्चधुरामाई मन्दिर परिसरका खरमट्ट सुकेका तलाउका खाल्डा देखाउँदै त्यहीँकै बासिन्दा सोम कार्कीले भने, “चैत मध्यपछि पानीका मुहान सुक्दै गएका हुन् ।” वन क्षेत्रभित्रको मन्दिर परिसरका तलाउ सुकेपछि वन्यजन्तु पनि खानेपानी नपाएर ठाउँ छाड्न थालेका कार्कीले बताए ।

तराईमा जेठ महिना प्रचण्ड राप र उखरमाउलो गर्मीयाम मानिन्छ । त्यतिखेर पानीको समस्या झेल्दै आइएको भए पनि लाग्दो वैशाखमै पानीको हाहाकार पर्न थाल्नु यसपालि राम्रो सङ्केत नदेखिएको यस भेगका सर्वसाधारण अड्कल काट्दैछन् । जिल्लाको बर्दिवासमात्र नभएर उत्तरी क्षेत्रका भङ्गाहा र गौशाला नगरपालिका क्षेत्रमा पनि खानेपानीको समस्या बढ्दो छ । भङ्गाहा नगरपालिका–४ का रामनगर, प्रेमनगर र टोका बस्तीका इनार एकपछि अर्को सुक्दै गएका र तल्लो भेगका बस्तीमा खानेपानीका लागि चापाकल प्रयोग हुँदै आएका ठाउँमा पनि पानी सुकेर समस्या बढेको प्रेमनगरका जवाहर महतोले बताए ।

“यहाँ १० वर्ष पहिलेका इनार त सबै सुकीसके, पछि खनिएका इनारमा पनि अब पानी भर्न झारिने डोल डुब्न छाडेको छ”, उनले भने, “बर्सेनि इनारमा पानीको सतह गहिरिँदै जाँदा समस्या प्रत्येक वर्षजसो हुने गरेको छ ।” लामो खडेरीले खानेपानीका सबै मुहान र स्रोत सुकेपछि जिल्लाको सुदूर–उत्तरवर्ती क्षेत्रका तीन नगर क्षेत्रका ३० भन्दा बढी बस्तीमा खानेपानीको हाहाकार मच्चिएको हो । यसपालि हिउँदे वर्षा नहुनु तथा चुरे र वरपरका नदीमा बालुढुङ्गा उत्खनन गर्नेहरुले गहिरा–गहिरा खाल्डा बनाएपछि वरपरका बस्तीमा इनार र चापाकलको पानीको सतह गहिरिँदै गएको चुरे विज्ञ भङ्गाहा–७ का बासिन्दा डा विजयकुमार सिंहको भनाइ छ ।

नयाँ वर्ष २०७८ शुरु भएयता इनार, चापाकल सुक्ने क्रम बाक्लिएको छ । रातु नदी र खोल्साखोल्सीको पानी सङ्ग्रह गरेर धाराबाट पानी वितरण गरिँदै आइएका बस्तीमा मुहान नै सुकेपछि धारामा पानी आउन कम हुँदै गएको हो । बर्दिवास नगर क्षेत्रका धेरैजसो बस्तीमा यस्तै धाराबाट खानेपानीको आपूर्ति हुँदै आएको छ । खोल्सीको जरुवा, इनार र चापाकल खानेपानीका स्रोत रहँदै आएको यस क्षेत्रमा जेठको गर्मी बढ्दै गएपछि पानी सुक्दै जाने पुरानै कुरा भए पनि यसपालि भने लाग्दो वैशाखमै मुहान सुक्दै गएका हुन् । गत चैतभरि छिटो पानी नपरेर खडेरी लागेपछि सबै सुकेका हुन् । रासस



प्रतिक्रिया दिनुहोस्