Logo

लकडाउन हुने त्राससँगै बजार आतंक, व्यापक मूल्यवृद्धि



काठमाडौं, ८ वैशाख । सरकारले कुनैपनि बेला लकडाउन गर्ने संकेतहरु दिएको छ । कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गरी विभिन्न क्षेत्रमा कडाई गरिएको छ । मुख्य शहर र कोरोना भाइरसको जोखिम बढेका क्षेत्रका विद्यालयहरु वैशाख मसान्तसम्मका लागि बन्द गरिएको छ ।

रात्रीकालीन व्यवसायमा कडाई गरिएको छ । पार्टी प्यालेसलगायत भीडभाड हुने स्थानमा २५ जनाभन्दा बढी जम्मा हुन रोक लगाइएको छ । कडाईका बाबजुद कोरोना भाइरसको संक्रमण फैलिइरहेको तथ्यांक छ ।

नेपालगञ्जमा आजबाट लागू हुनेगरी एकसाता लकडाउन घोषणा गरिएको छ । देशका मुख्य शहरहरु कोरोना भाइरस जोखिमको हब बन्दै गएको अवस्थामा लकडाउन हुनसक्ने त्रास बढेको छ ।

लकडाउनको त्राससँगै कृत्तिम अभावहरु सृजना गर्न थालिएको छ । विशेषगरी दैनिक उपभोग्य सामाग्रीको अभाव सृजना गरी व्यापक मूल्यवृद्धि गरिएको छ ।
गेडागुडीको मूल्य आकाशिएको छ । दालको मूल्य व्यापक रुपमा वृद्धि भएको छ ।

खाने तेलको मूल्य सबैभन्दा बढेको छ । बजारमा तोरीको खाने तेल प्रति लिटर ३ सयको हाराहारीमा पुगिसकेको छ ।

मौसमी तरकारीको मूल्य पनि बढेको छ । फलफूलको मूल्य आकाशिएकोछ । कालिमाटी तरकारी बजारका अनुसार अंगुर प्रतिकेजी १६०, अनार ३०० पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्