Logo

नवीन चिनाउन जाग्दै उप्रेती



इलाम, १४ बैशाख । मृत्यु भएका स्रष्टाको कृति निकाल्न सहज हुँदैन । ठोस प्रमाण निकाल्नुपर्ने, सन्दर्भ सामग्री प्रयोग गर्नुपर्ने यावत् झण्झट बेहोर्नुपर्छ । वास्तविकताको नजीक पुगेर पुस्तकको जानकारी लिन ठूलै सकस झेल्नुपर्छ । धेरै समय लाग्छ तर यहाँका एक साहित्यकारले यिनै समस्यालाई झेल्दै पुराना साहित्यकारको सम्मान गरेका छन् ।

एउटा मात्र होइन, तीन/तीन साहित्यिक कृति । यो जोखिम मोल्ने व्यक्ति हुन्, नन्दु उप्रेती । उप्रेतीले करीब डेढ महिनाको अन्तरालमा साहित्यकार विष्णु नवीनका तीन कृति सम्पादन गरे । दुई दशकअघि मृत्यु भएका नवीनका बारेमा सोधखोज गरेर समाजसमक्ष पुस्तक पु¥याउन उप्रेतीले अनेकन समस्या झेल्नुप¥यो ।

फ्रायडवादी चिन्तनबाट प्रभावित नवीनको साहित्यिक तेज गहिरो थियो । यो सबै जोखिम मोलेर पुस्तक सम्पादन गर्न उप्रेतीलाई हम्मेसी सकस थियो । एकातिर आफू बिरामी, अर्कातिर घरायसी काम तर उनले नवीनलाई सम्झे ।

जो जीवनमा कहिल्यै मिठो खाएन, राम्रो लाएन । साहित्यकै लागि हिँड्यो । त्यसका लागि काम गर्न पाउँदा के नगर्नू भन्ने लाग्यो । पुस्तक प्रकाशन इलाम नगर साहित्य प्रतिष्ठानले गर्ने थियो । प्रतिष्ठानले नै उप्रेतीलाई सम्पादकको जिम्मा दिएको हो । नवीनका सबै खुराक एउटै पुस्तकमा अटाउन खोजिएको थियो तर उप्रेतीलाई त्यो ठीक लागेन । उहाँले आफूले गर्नुपरे, विधागत रूपमा पुस्तक निकाल्नुपर्ने सुझाए । नभए आफूले नसक्ने भने ।

त्यसपछि उप्रेतीकै कुरामा सही थप्दै पुस्तक विधागत रूपमै छापिने भयो । कृतिको नाम तय भयो, ‘सोझो नवीनका, बाङ्गा निबन्ध’ (व्यङ्ग्य निबन्ध), ‘केही सोधी, केही खोजी’ (अनुसन्धनात्मक) र ‘धेरै कुरा, एकै ठाउँमा’ (विविध) । यसबाहेक उप्रेतीलाई अर्को कविताको कृति निकाल्न मन थियोः नवीनले लेखेका र नवीनका लागि लेखिएका कविता मिलाएर पुस्तक छाप्ने । कविता एकदमै कम भयो । त्यसैले त्यो काम थाती रह्यो । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot