Logo

श्रमिकको न्यूनतम मासिक पारिश्रमिक राजपत्रमा



काठमाडौं, बैशाख २१। सरकारले श्रमिकहरूको न्यूनतम मासिक पारिश्रमिक १५ हजार पुर्‍याउने गरी राजपत्रमा सूचना प्रकाशित गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मजदूर दिवसको दिन पारी शनिवार मात्रै श्रमिकहरूको न्यूनतम पारिश्रमिक बढाउने घोषणा गरेका थिए ।

त्यसको २ दिनमै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी साउन १ गतेदेखि वृद्धि गरिएको पारिश्रमिक लागू गराउन राजपत्रमा सूचना जारी गरेको हो । सोमवार सार्वजनिक गरिएको सूचनाअनुसार मासिक आधारभूत पारिश्रमिक ९ हजार ३८५ र त्यसमा महँगी भत्ता जोडेर मासिक १५ हजार पुर्‍याइएको छ ।

यस्तै, श्रमिकले पाउने न्यूनतम दैनिक पारिश्रमिक ३६१ मा पनि महँगी भत्तासमेत जोडेर ५७७ पुर्‍याइएको छ । भत्तासहित अहिले पाउने दैनिक पारिश्रमिक ५१७ रहेको छ । प्रतिघण्टा ज्याला ४८ मा महँगी भत्ता २९ जोडेर ७७ पुर्‍याइएको छ । अहिले प्रतिघण्टा ज्याला ६९ छ ।

आगामी साउन १ गतेदेखि लागू गर्ने गरी मन्त्रालयले यो पारिश्रमिक निर्धारण गरेको हो । हाल श्रमिकको मासिक न्यूनतम पारिश्रमिक १३ हजार ४५० छ । यो पारिश्रमिक चिया बगानमा काम गर्ने श्रमिकको हकमा भने लागू नहुने आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्