Logo

कोरोना नियन्त्रणमा जाग्दै समुदाय



काठमाडौं, बैशाख २१ । कोरोना संक्रमितको उपचार गर्न नसक्ने भन्दै सरकारले हात उठाइसकेका बेला ललितपुर च्यासलका स्थानीयले महामारीसँग लड्न आफैं तयारी गरेका छन्। उनीहरूले आर्थिक अनुदान संकलन गरेर ५ बेडसहितको आइसोलेसन सेन्टर निर्माण गरेका हुन्। टोलवासीकै सक्रियतामा यस्तो कार्य भएको स्थानीयको भनाइ छ।

वरिपरिका व्यक्ति कोरोना संक्रमणबाट गम्भीर भएमा यही आइसोलेसन सेन्टरमा राखिने बताइएको छ। संक्रमण भयावह भएमा बेड थप गर्ने लक्ष्य समुदायले राखेको स्थानीय श्याम व्यञ्जनकारले बताए। उनले तत्काल अप्ठेरो आइपर्नसक्ने अवस्थालाई अनुमान गरेर आइसोलेसन कक्ष निर्माण गरिएको बताए। उनले भने, ‘अब समुदाय तह नै जाग्नुपर्ने बेला आएको छ, कोरोना संक्रमण भयावह भएमा हामीले यसलाई थप गर्छौं।’ ललितपुर च्यासलकै ज्यापु समाजले कोरोना संक्रमण भयावह भए समाजको हललाई आइसोलेसन कक्ष बनाउने बताएको छ। त्यस्तै नख्खुमा बनेको नवनिर्मित भवनलाई पनि तत्कालका लागि आइसोलेसन कक्ष बनाउन सकिने योजनामा ज्यापु समाज छ।

पाटन क्षेत्रको ताम्राकार समाजले कोरोना संक्रमणलाई ध्यानमा राख्दै समाजको हल प्रयोग गर्ने योजना बनाएको छ। समुदायस्तरमा कोरोना संक्रमण फैलिए हल र पार्टी प्यालेसलाई पनि प्रयोग गर्न सकिने समाजले जनाएको छ।संक्रमण बढिरहेको बेला यसको रोकथामका लागि समुदायस्तरको भूमिका प्रभावकारी रहने जनस्वास्थ्यविद् डा।रवीन्द्र पाण्डेले बताए। उनले संक्रमणको बेला समुदाय सजग भए सरकारलाई पनि थप सहयोग पुग्ने र अस्पतालमा पुग्ने बिरामीको संख्या पनि कम हुने स्पष्ट पारे। उनले भने, ‘समुदाय एकदमै सचेत हुनुपर्छ, तर त्योभन्दा बढी जिम्मेवार राज्य हुनुपर्छ, सरकारले गर्न नसक्ने अवस्थामा समुदाय नै होसियार बन्न सक्नुपर्छ।’

त्रिवि शिक्षण अस्पतालमा कार्यरत डा। सन्तोष केसीले संक्रमण नियन्त्रणबाहिर जाने अवस्था रहेकोले समुदाय र हरेक व्यक्ति निकै होसियार हुनुपर्ने बताए। ‘कोरोना संक्रमण हामीले सोचेभन्दा बढी फैलिएको छ,’ उनले भने, ‘यसको रोकथामको लागि सबै होसियार हुनुपर्छ, अस्पतालले थेग्न सक्ने अवस्था छैन।’ दुःखमा आम नागरिकको सहारा बन्नुपर्नेमा सरकार हारिसकेको बेला समुदायस्तरमा भने कोरोनासँग जुध्न विभिन्न गतिविधि गरिएको छ। जसमा सामाजिक सञ्जालको प्रयोग गरेर सहयोग आदानप्रदान गर्न थालिएको छ। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्