Logo

सामाजिक सुरक्षा कोषमा सूचीकृत श्रमिकलाई एक लाख कोरोना उपचार खर्च



काठमाडौं, बैशाख २१। योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकृत भएका श्रमिकलाई कोरोना भएमा एक लाख रुपियाँसम्मको उपचार खर्च कोषले बेहोर्ने व्यवस्था गरेको छ । यसका लागि योगदानकर्ताले कोषमा कम्तीमा पनि तीन महिना योगदान गरेको हुनुपर्नेछ । कोषले यसअघि स्वास्थ्य उपचारका लागि गरेको व्यवस्थाअनुरूप कोषमा सूचीकृत भएका श्रमिकलाई उक्त सेवा पाउने व्यवस्था गरेको हो ।

कोषका अनुसार अस्पताल भर्ना भएर उपचार गर्न परेको खण्डमा एक वर्षमा एक लाख रुपियाँ पाउनेछन् भने कोरोना भएर घरमै उपचार गरेकाको हकमा भने २५ हजार रुपियाँसम्म उपचारबापत रकम दाबी गर्नसक्ने व्यवस्था छ ।कोषका कार्यकारी निर्देशक कपिल ज्ञवालीले कोषको यसअघिका योजनामा पर्ने सबै सेवासुविधा कोषमा सूचीकृत भएका कोरोना सङ्क्रमितले पनि पाउने जानकारी दिए ।

सूचीकृत श्रमिकको कोरोनाले मृत्यु भएमा मृतकका आश्रित परिवारले सुविधा पाउने पनि उनले बताए । योगदानकर्ताले बिरामी हुँदा औषधोपचार र स्वास्थ्य सुरक्षा योजनाअन्तर्गतका सुविधा पाउने भन्दै कार्यकारी निर्देशक ज्ञवालीले भने, “मृत्यु भएमा आश्रित परिवार सुविधा योजनाअन्तर्गतको सुविधा आश्रित परिवारले पाउनुहुनेछ । ”
कोषका अनुसार हालसम्म सूचीकृत श्रमिकको कोरोनाका कारण निधन भएको छैन । सङ्क्रमण भएकाले भने उपचार खर्चबापतको रकम पाइरहेका छन् ।

कोरोनाका कारण कोषमा आबद्ध श्रमिकको मृत्यु भएमा अन्य रोगबाट जस्तै खाइपाई आएको आधारभूत पारिश्रमिकको ६० प्रतिशत रकम आश्रित परिवार (श्रीमान् वा श्रीमती)लाई आजीवन निवृत्तिभरण दिइनेछ । छोराछोरीको हकमा भने उनीहरू १८ वर्ष पूरा नभएसम्म मृतकको आधारभूत पारिश्रमिकको ४० प्रतिशत रकम मासिक शैक्षिकवृत्तिका रूपमा दिने व्यवस्था गरेको छ । एकभन्दा बढी सन्तान भएमा सोही रकम दामासाहीले पाउने व्यवस्था गरिएको छ ।

कोषका अनुसार यदि कुनै सन्तान निरन्तर अध्ययनरत रहे कोषले त्यस्तो सुविधा २१ वर्ष पूरा नभएसम्म प्रदान गर्नेछ । शारीरिक तथा मानसिक अशक्तता भएका मृतक योगदानकर्ताका सन्तानका हकमा भने उमेर हद लागू हुनेछैन । यस्तो अवस्थाका जुनसुकै उमेरका छोराछोरीले शैक्षिकवृत्तिबापत रकम पाउनेछन् ।

मृतक योगदानकर्ता अविवाहित भए उसमा आश्रित आमाबुबालाई आधारभूत पारिश्रमिकको ६० प्रतिशत रकम जीवनकालभर मासिक रूपमा प्रदान गरिनेछ । आमाबुबाको वैकल्पिक रोजगार रहेको वा अन्यत्रबाट माथि उल्लेखितभन्दा बढी सुविधा पाउने भए यो सुविधा दिइने छैन । त्यस्तै मृतकका हकवालाले अन्तिम संस्कार खर्चबापत २५ हजार रुपियाँ पाउने व्यवस्था छ । हकवालाले यस्तो रकम एकमुष्ट पाउनेछन् । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot