Logo

नेकपा (माओवादी केन्द्र) द्धारा सरकारलाई दिएको समर्थन फिर्ता, पत्र भोलि दर्ता गर्ने



काठमाडौं, २१ बैशाख । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक सम्पन्न भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको बेठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पत्रकार ऋषि धमलालाई जानकारी दिए । उनले भने,‘केपी ओली सरकारलाई हामीले दिएको समर्थन यसअघि नै फिर्ता लिएकै हो, आज निर्णय गरिएको छ । अब भोलि संसद सचिवालयमा समर्थन फिर्ता लिएको पत्र दर्ता हुन्छ ।’

उता, बैठकको निर्णय सुनाउँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले भने,‘सरकारको सिफारिशमा भनेर राष्ट्रपतिले अहिले बैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशन बोलाईएको छ । र, त्यसमा प्रधानमन्त्रीले आफ्नो विश्वासको मत लिने कुरा बताउनुभएको छ, हाम्रो पार्टीले अदालतको २०७७ फागुन २३ गते नेकपालाई विभाजन गरेर नेकपा एमाले र नेकपा माओवादी केन्द्र दुईवटा पार्टी बनाईदिने फैसला आएपछि नै यो सरकारले, प्रधानमन्त्रीले चैत्र २३ गतेभित्र नै विश्वासको मत लिनुपर्छ भनेका थियौं । त्यतिखेर उहाँले त्यो पहल गर्नुभएन । अहिले केही समयभित्र संसदको नियमित अधिवेशन बोलाउनुपर्ने बाध्यकारी छ । विश्वासको मत लिने कुरा छल्ने, नियमित अधिवेशन छल्ने, र अहिले विशेष अधिवेशन बोलाईएको छ, प्रधानमन्त्रीको राजनीतिक आशय र उद्देश्य राम्रो देखिँदैन् । त्यसकारण हाम्रो पार्टीले सचेततापूर्वक ध्यान दिनुपर्ने आवश्यकत्ता छ । दोस्रो कुरा, लुम्बिनी प्रदेशमा जुन अवैधानिक ढंगले नयाँ प्रदेश सरकार बनाएको घोषणा गरिएको छ, त्यो पूर्ण रुपले अवैधानिक छ । राजनैतिकताको चरम उल्लंघनको पराकाष्ठा हो । लुम्बिनी कथित सरकारलाई अवैधानिक घोषणा गर्दछौं । यसको विरोधमा प्रदेशमा रहेका सबै पार्टीहरुलाई दृढ रुपमा समर्थन गर्दछौं ।’

उनले पार्टीको आजको बैठकले हालैमात्रै दुई जना प्रदेश प्रमुखहरुलाई हटाएको विषयमा पनि आपत्ति जनाएको छ । पार्टीले यो कदमलाई स्वेच्टछाचारी, निरंकुश भएको जनाए । प्रधानमन्त्री केपी ओली र उनको सरकार र गुटले देशलाई एकपछि अर्को गरेर योजनाबद्ध रुपमा प्रतिगमनतर्फ लैजान लागेको विश्लेषण गर्दै सरकारको विरुद्ध सचेत र अपिल गर्ने निर्णय गरेको पनि सुनाए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot