Logo

१ वर्षमा वाणिज्य बैंकहरूको निक्षेप ७ खर्ब ७३ अर्ब बढ्यो



काठमाडौं, बैशाख २२ । कोभिड–१९ शुरू भएको १ वर्षको अवधिमा वाणिज्य बैंकहरूले खर्बौंको निक्षेप संकलन वृद्धि गर्न सफल भएका छन् । वाणिज्य बैंकहरूले गत आर्थिक वर्ष (आव) को चैतदेखि चालू आवको चैतसम्ममा सर्वसाधारण, अन्य विकास बैंक, वित्त कम्पनी, लघुवित्त, बीमा, गैरबैंकिङ संस्थालगायतबाट थप ७ खर्ब ७३ अर्ब १० करोड निक्षेप संकलन गरेका छन् ।

सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरूको निक्षेप २४ दशमलव शून्य ६ प्रतिशतले वृद्धि भएको छ । चालू आवको चैतसम्ममा कुल निक्षेप संकलन ३९ खर्ब ८६ अर्ब रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा कुल निक्षेप ३२ खर्ब १३ अर्ब रुपैयाँ रहेको थियो ।

बैंकहरूको निक्षेप वृद्धि उत्साहजनक मान्नुपर्ने बैंकरहरू बताउँछन् । २६ ओटा वाणिज्य बैंकको निक्षेप वृद्धि उत्साहजनक भए पनि स्ट्यान्डर्ड चार्टर्डले भने सोही अनुपातमा थप निक्षेप बढाउन नसकेको देखिन्छ । स्ट्यान्डर्डले चालू आवको चैतसम्ममा ८४ अर्ब १० करोड २१ लाख ७३ हजार बराबरको कुल निक्षेप संकलन गरेको छ । यो निक्षेप गत आवको चैतको तुलनामा २ अर्ब ५ करोड रुपैयाँले कम हो । गत आवको चैतसम्ममा चार्टर्डले ८६ अर्ब १४ करोड ८४ लाख रुपैयाँको हाराहारीमा कुल निक्षेप संकलन गरेको थियो ।

चालू आवको चैतसम्म निक्षेप संकलनमा एनआईसी एशिया, मेगा र सिटिजन्स बैंक अग्र स्थानमा देखिएका छन् । सबैभन्दा बढी निक्षेप रकम संकलन गरेको एनआईसी बैंकले ९९ अर्ब ७९ करोड रुपैयाँ निक्षेप बढाएको छ । कर्जा प्रवाहमा पनि आक्रामक देखिएको यस बैंकले थप निक्षेप बढाएर कुल निक्षेप २ खर्ब ९६ अर्ब रुपैयाँ पु¥याएको छ । गतवर्ष कुल निक्षेप १ खर्ब ९६ अर्ब रुपैयाँ थियो । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot