Logo

कोरोना अस्पताल र आइसोलेसन सेन्टर नाम मात्रका, संक्रमित जोखिममा



कैलाली, बैशाख ३१ । कैलालीको जोशीपुर गाउँपालिकाले कोरोना संक्रमितको उपचार गर्ने उद्देश्यले स्थानीय रघुनाथ आदर्श बहुमुखी क्याम्पसको भवनमा कोभिड अस्पताल निर्माण गरेको छ। तर त्यो अस्पतालमा न स्वास्थ्यकर्मी र स्वास्थ्य सामग्री छ न त उपचारका लागि कोरोना संक्रमित नै भर्ना भएका छन्। अस्पताल केवल देखाउनका लागि मात्रै निर्माण गरिएको छ।

गाउँपालिकाले जोशीपुर प्राथमिक स्वास्थ्य केन्द्रबाट चिकित्सक जाने व्यवस्था त गरेको छ। तर स्वास्थ्य सामग्रीको अभावमा कोरोना संक्रमित उपचारका लागि भर्ना नभएपछि चिकित्सक आजसम्म कोभिड अस्पताल जान परेको छैन।

बर्दगोरीया गाउँपालिकाले खानेपानी कार्यालयको भवनमा २० शैयाको आइसोलेसन सेन्टर स्थापना गरेको छ। गाउँपालिकाले अन्य दुई ठाउँमा समेत आइसोलेसन सेन्टर स्थापनाका लागि प्रस्ताव गरेको छ।

हाल स्थापना भएको आइसोलेसन सेन्टरमा २ जना कोरोना संक्रमित मात्रै छन्। त्यहाँ स्वास्थ्य सामाग्रीको भरपर्दो व्यवस्थामात्र हैन, चिकित्सक पनि छैनन्। तर, प्रमुख प्रशासकीय अधिकृत अर्जुनसिँह कार्कीले अक्सिजन सेवा सहितको आइसोलेसन सेन्टर भएको बताए। उनका अनुसार आइसोलेसन सेन्टरमा एचए र अनमीले बिरामीको उपचार गरिरहेका छन्। उनले कोरोना संक्रमित उपचारका लागि आउने जाने क्रम चलिरहेको जानकारी दिए।

यता जानकी गाउँपालिकाले निर्माण गरेको आइसोलेसन सेन्टरको अवस्था पनि दयनीय छ। कोरोना संक्रमितलाई एचए र अनमीले उपचार गरिरहेका छन्। न त्यहाँ स्वास्थ्य सामाग्री छ न त स्वास्थ्य समस्या जटिल भए नजिकको अस्पताल पुर्याउने एम्बुलेन्स नै। ‘हाम्रोमा सामान्य उपचार मात्रै हो’ स्वास्थ्य शाखा प्रमुख जीतबहादुर चौधरीले भने।, ‘स्वास्थ्य समस्या बढ्यो भने टीकापुर अस्पताल पठाउने गरेका छौं।’

उनले थुप्रै कोरोना संक्रमित होम आइसोलेसनमै बसेको बताए। उनका अनुसार प्रत्येक दिन टेलिफोनमार्फत् होम आइसोलेसनमा बसेका कोरोना संक्रमितको स्वास्थ्य अवस्थाको जानकारी लिने गरिएको छ। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot