Logo

जसपा संसदीय दलमा महतो



काठमाडौं, जेठ १। जसपा संसदीय दल नेतामा राजेन्द्र महतो चयन भएका छन् । पार्टी एकताको एक वर्षपछि जसपाले संसदीय दलको नेता चयन गरेको हो ।तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) र संघीय समाजवादी फोरमबीच १० वैशाख २०७७ मा एकीकरण भएर जसपा घोषणा भएको थियो । एकीकरण भए पनि अहिलेसम्म विधान अभाव र नेताबीच सहमति हुन नसक्दा संसदीय दलको नेता चयन हुन सकेको थिएन ।

जसपा कार्यकारिणी समिति सदस्य एवं सांसद लक्ष्मणलाल कर्णले दलको नेतामा महतो चयन भएको बताए । बहुमत सांसद बैठकले उनलाई दलको नेता चयन गर्ने निर्णय गरेको हो ।

जसपामा ३६ सांसद छन् । २० सांसदको बैठकले महतोलाई नेता चयन गर्ने निर्णय गरेको बताइएको छ । तर, जसपा संघीय परिषद् अध्यक्ष डा भट्टराई र अध्यक्ष यादव समूहले अहिलेसम्म दलको नेता चयन नभएको जनाएको छ । सो समूहको सांसद बैठकमा सहभागी भएनन् ।

जसपा कार्यकारिणी समिति सदस्य एवं सांसद रामसहाय यादवले संसदीय दलको बैठक भएको र नेता चयन भएको झुठो रहेको प्रतिक्रिया दिए । ‘बैठक बसेकै छैन, हामीलाई केही थाहा नै छैन, संसदीय दलको नेता कसरी चयन भयो?’ उपेन्द्रनिकटका सांसद रामसहायले भने, ‘यो सबै फर्जी काम हो । गलत प्रचार भइरहेको छ ।’ राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot