Logo

मन्त्रिपरिषद्मा पुरानै अनुहार



काठमाडौं, जेठ १ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगमनको कुरा गरेर मुलुकलाई अस्थिरतातर्फ धकल्ने काम र प्रयास नगर्न विपक्षी राजनीतिक दलहरूलाई चेतावनी दिएका छन्। प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलको हैसियतमा संविधानको धारा ७६ ९३० अनुसार शुक्रबार प्रधानमन्त्रीको सपथ लिएका ओलीले सिंहदबारमा कार्यभार समालेपछि भने, ‘यति बेला पनि केही अस्थिरता चाहने, मुलुकमा शान्ति देख्न नचाहने तत्वहरू लोकतान्त्रिक मूल्य–मान्यताअनुसार संविधान र कानुनबमोजिम देश चल्दा प्रतिगमन भएको देख्छन्, आफूले सरकार बनाउन नसक्नुमा पनि प्रतिगमन देख्छन्, अरुले सरकार बनाउँदा पनि प्रतिगमन देख्छन्, तथाकथित नक्कली क्रान्तिकारी चस्माबाट हेर्छन्, जनतालाई भ्रममा पार्न मुलुकमा प्रतिगमन भएको छ भन्छन्।’

तेस्रो पटक मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारीमा पुगेका ओलीले आफू संविधान र कानुनअनुसार लोकतान्त्रिक प्रक्रियाबाट अगाडि बढिरहेको दाबी गर्दै संविधान र संसदीय प्रक्रिया अनुसार हटाउन नसक्ने तत्वहरूले आफूलाई प्रतिगामी भनेको आरोप लगाए।

सरकारलाई सफल हुन नदिने तत्वले भ्रष्टाचारको हल्ला फैलाएको आरोप लगाउँदै ओलीले कसैले भ्रष्टाचार गरेको थाहा पाए कारबाही गर्ने बताए। देशप्रति चिन्तित नहुने प्रवृत्ति र मुलुकलाई अस्थिरतातर्फ धकल्ने प्रयास स्वीकार्य नहुने चेतावनी दिँदै उनले भने, ‘जताततै पहेंलो देख्ने जन्डिसका बिरामीजस्ता, जता पनि भ्रष्टाचार देख्ने भएका छन् एकथरी।’

कोरोना भाइरस संक्रमण नियन्त्रणमा सक्रिय भएर लाग्न सबैलाई आग्रह गर्दै प्रधानमन्त्री ओलीले भने, ‘संकटका बेला मानवीय भावना बढी आवश्यक पर्छ। यस्तो बेलामा परोपकारी प्रवृत्तिलाई बढावा दिन आवश्यक छ।’ सबै जिम्मेवारीबोधका साथ सक्रिय भए संकट टार्न सकिने उनको भनाइ थियो। ओलीले शुक्रबार नै संविधानको धारा ७६ ९३० अनुसार राष्ट्रपति विद्यादेवी भडारीबाट शीतल निवासमा आयोजित एक कार्यक्रममा पद तथा गोपनीयताको सपथ लिएका थिए।

प्रतिनिधिसभाको वैशाख २७ गतेको बैठकमा विश्वासको मत प्राप्त गर्न नसकेपछि राष्ट्रपतिले सोही दिन संविधानको धारा ७६ ९२० अनुसार दुई वा दुईभन्दा बढी दललाई प्रधानमन्त्रीमा दाबी गर्न तीन दिनको समय दिएकी थिइन्। राष्ट्रपतिले दिएको समय सीमाभित्र कुनै पनि दलले प्रधानमन्त्रीको दाबी प्रस्तुत नगरेपछि बिहीबार राति उनले ओलीलाई संसद्को सबैभन्दा ठूलो दलको नेताको हैसियतमा पुनः प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन्। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot