Logo

बाँकेका अस्पतालमा संक्रमणबाट सिकिस्त बिरामीको चाप



बाँके, जेठ ६ । भेरी अस्पताल र नेपालगन्ज मेडिकल अस्पतालमा अहिले कोरोना संक्रमणबाट सिकिस्त बिरामीको चाप छ। यहाँका अस्पतालमा बाँकेसहित विभिन्न जिल्लाबाट रेफर भएका बिरामी छन्। पश्चिम क्षेत्रका विभिन्न जिल्ला अस्पतालको उपचार र होम आइसोलेसनमा बस्दा पनि स्वास्थ्यमा सुधार नभएपछि अधिकांश बिरामी नेपालगन्जका अस्पतालमा आएर भर्ना भएका हुन्। बाँके जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको पछिल्लो तथ्यांकअनुसार भेरी अस्पतालमा बुधबार बेलुकीसम्म २ सय २८ जना संक्रमित भर्ना छन्।

त्यस्तै नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा १ सय १८ जना र शिक्षण अस्पताल नेपालगन्जमा ११ जना संक्रमितले उपचार गराइरहेका छन्। उनीहरूको अवस्था गम्भीर रहेको बताइएको छ। बाँकेमा तीन दिनयता संक्रमण दर क्रमिक रूपमा ओरालो लागे पनि अस्पतालमा गम्भीर अवस्थाका बिरामीको चाप भने नघटेको भेरी अस्पतालका एनेस्थेसियोलोजिस्ट डा पारश पाण्डेले बताए।

भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज र बागेश्वरी ल्याबले सार्वजनिक गरेको पिसिआर रिपोर्टअनुसार तीन दिनयता संक्रमित हुने दरमा पहिलाको तुलनामा केही कमी आएको छ। ‘जिल्लामा कोरोना संक्रमित हुनेको संख्या अलिकति घटेको छ तर होम आइसोलेसनमा बसेका र बाहिरी जिल्ला अस्पतालमा उपचार गराएर निको नभएका बिरामी आइरहेकै छन्,’ पाण्डेले भने, ‘अस्पतालमा अब सिरियस खालका बिरामी धेरै छन्, त्यसकारण मृत्युदर पनि रोकिएको छैन।’

नेपालगन्ज मेडिकल कलेजका उपनिर्देशक डा। दिनेश श्रेठ पनि शिक्षण अस्पतालमा विशेषगरी सिकिस्त बिरामीको चाप परेको बताउँछन्। ‘हाम्रो यहाँ जिल्लाबाहिरका अस्पतालले रेफर गरेका र होम आइसोलेसनमा धेरै दिनसम्म बसेर निको नभएका संक्रमित आइरहेका छन्, बचाउने कोसिस गर्दागर्दै पनि केही बिरामीको मृत्यु भइरहेको छ,’ उनले भने। अस्पतालमा अक्सिजन र जनशक्ति कमी भइरहेको डा। श्रेष्ठले बताए। ‘संक्रमित हुनेको संख्या कम भए पनि सिकिस्त बिरामी आउने चाप कत्ति घटेको छैन,’ उनले भने। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्