Logo

झ्याप झ्याप बती जाँदा उपभोक्ता हैरान



काठमाडौं, जेठ ११ । पछिल्ला केही दिनयता सर्वसाधारण झ्याप झ्याप बत्ती जाँदा हैरान भएका छन् । विद्युत् प्राधिकरणको फितलो व्यवस्थापनका कारण राजधानीका विभिन्न स्थानमा दैनिक जसो नै बत्ती आउने जाने भइरहेको छ । यस्तै समस्या देशका अन्य प्रमुख सहरमा समेत हुने गरेको उपभोक्ताले बताएका छन् ।

देशभर दैनिकजसो बत्ती आउने जाने गरेको गुनासो आउन थालेका छन् । बत्ती जाने आउने समस्या बढे पनि यसको दीर्घकालीन समाधान गर्न प्राधिकरण असफलजस्तै देखिएको छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्य भने लोडसेडिङको समस्या नरहेको दाबी गर्छन् । ‘लाइन नै सर्ट भएर ट्रान्सफर्मर पट्केर कुनैबेला बत्ती गएको हुन सक्छ तर प्रणालीमा कुनै समस्या छैन । बत्ती जाने समस्या हुँदा हाम्रो भाइबर र वाट्सयापमा तुरुन्तै सूचना आउने गरेको छ । त्यसलाई हामी तुरुन्तै समाधानसमेत गर्ने गरेका छौं,’ कार्यकारी निर्देशन शाक्यले राजधानीसँग भने ।

प्राधिकरणका अनुसार ११ केभी ३३ केभीका १ सय ५० देखि २ सय किलोमिटर लामो ट्रान्समिसन लाइन भएको ठाउँहरूमा कुनै ठाउँमा रूखले छोयो, प्राविधिक समस्या आयो भने पत्ता लगाउन समय लाग्ने हुँदा केही ठाउँमा समस्या रहेको छ । त्यसकारण यस्ता ठाउँहरूमा १ सय ३२ केभी लाइन नबनाएसम्म लाइन आउने जाने भई नै रहन्छ । शाक्यले त्यस्ता ठाउँमा क्षमता विस्तारका लागि समन्वय भइरहेको जानकारी दिए ।

प्राधिकरणले बत्ती आउने जाने समस्या नरहेको बताउँदै गर्दा बालाजु वितरण केन्द्रअन्तर्गतका एक उपभोक्ताले भने तारकेश्वर नगरपालिकाको वडा नम्बर ४, ५ र ६ मा तीन हप्तादेखि दैनिक बत्ती आउने जाने गरेको गुनासो गरे । यस विषयमा प्राधिकरणलाई प्रश्न गर्दा लाइन मर्मतको काम भएका कारण समस्या आएको बताएको छ । कार्यकारी निर्देशक शाक्यले भने, बालाजुबाट ककनीतिर जाने लाइनमा पहिला बनाएको लाइन कमजोर भएका कारण पोल सार्दै सुधार गर्दै आइरहेका छांै त्यसकारण बत्ती जाने समस्या आएको हो । तर यसलाई लोडसेडिङ भएको भन्न मिल्दैन ।’

अर्कोतर्फ यतिबेला कोरोना भाइरसको प्रभाव न्यूनीकरण गर्न सरकारले गरेको लकडाउनका कारण व्यापार व्यवसाय ठप्प हुँदा समान्य अवस्थाभन्दा विद्युत् माग १५ देखि २० प्रतिशत घटेको छ । खोलामा पानी बढ्न थालेपछि अहिले उत्पादनसमेत बढ्न थालेको छ । तर, पनि प्राधिकरणले त्यसको उचित व्यवस्थापन गर्न नसक्दा उपभोक्ता अघोषित लोडसेडिङको मारमा पर्दै आएका हुन् ।राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot