Logo

तिलगङ्गामा ३० बेडको आइसोलेसन, दीपेन्द्रद्वारा अवलोकन



काठमाडौं, २७ जेठ । काठमाडौं महानगरपालिकाको वडा नम्बर ९ स्थित तिलगङ्गाका स्थानीय समाजसेवीहरु मिलेर ३० बेडको कोभिड–१९ आइसोलेसन सञ्चालनमा ल्याएका छन् ।
बागमती नदीको किनारमा रहेको श्री शारदा माध्यमिक विद्यालयमा कोरोनाको संक्रमितको उपचारको लागि ६ वटा भन्दा बढी सामाजिक संस्था मिलेर उक्त आइसोलेसन सेन्टर खोलेका हुन् ।

मिर्मिरे युवा समाज, सिनामंगल युथ एलाइन्स, विजय चोक युवा क्लब, श्री पञ्चकुमारी समाज, कृति फाउण्डेसन र नव न्यानो फाउण्डेसन मिलेर संयुक्त रुपमा उक्त आइसोलेसन सञ्चालनमा ल्याएका हुन् । समाजसेवी एवं मिरमिरे युवा समाजका अध्यक्ष दिनेश बिक्रम शाहले काठमाडौं महानगरपालिकाको प्रविधिक सहयोग माट्रिका आइसेन्टरको मुख्य भूमिकामा ६ वटा सामाजिक संस्था मिलेर संयुक्त रूपमा उक्त आइसोलेसन सेन्टर सञ्चालनमा आएको बताए ।

अहिले आइसोलेसनमा ११ जना कोभिड-१९ संक्रमितको उपचार भइरहेको उनको भनाई छ । बिरामीको स्वास्थ्यलाई मध्यनजर गर्दै प्रयाप्त मात्रामा अक्सिजनको व्यवस्थापन गरिएको पनि समाजसेवी शाहले जानकारी दिए ।

शारदा माध्यामिक विद्यालयमा खोलिएको आइसोलेसनलाई व्यवस्थित र प्रभावकारी ढंगले सञ्चालनमा ल्याउन सक्दो सहयोग गर्ने बागमती प्रदेशका प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठले प्रतिबद्धता जनाएका छन् । आइसोलेसन सेन्टरको अवलोकन गर्दै सांसद श्रेष्ठले विरामीको उपचारमा ती संस्थाहरुले खेलेको भूमिकाको प्रशंशा गर्दै आफू पनि आवश्यक सहयोग गर्न तयार रहेको बताए ।

ती संस्थाहरूको आग्रह बमोजिम अवलोकन गर्न पुगेका श्रेष्ठले उक्त आइसोलेसन वार्डबाट यस भेगका जनतामा राहत मिल्ने धारणा राखे । उनले जनताको स्वास्थ्यप्रति सचेत रही कोरोनाको उपचारमा महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा धन्यवादसमेत व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot