Logo

अझै ३ दिन यी प्रदेशमा छ उच्च बर्षा र बाढीको सम्भावना



काठमाडौं, असार ३ । मौसमविद्ले यस वर्ष नेपालमा औसतभन्दा बढी वर्षा हुने अनुमान गरेका छन्। उनीहरूका अनुसार अझै ३ दिन वाग्मती, लुम्बिनी, गण्डकी तथा सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँमा भारी वर्ष हुने सम्भावना छ। अन्य प्रदेशमा भने बिहीबारदेखि वर्षा क्रमशः कमजोर हुँदै जाने उनीहरूको अनुमान छ।

मौसमविद् मीनकुमार अर्यालले यस वर्षको वर्षायाममा औसतभन्दा बढी वर्षा हुने अनुमान गरिएको बताए। सामान्यतया वर्षायाममा काठमाडौंमा १ हजार १ सय ३० मिलिमिटर औसत वर्षा हुने गर्छ। यस वर्ष त्योभन्दा बढी वर्षा हुने उनको भनाइ छ। अर्यालका अनुसार नेपालमा मनसुन जुन १३ बाट सुरु हुन्छ। तर यस वर्ष जुन १० बाटै मनसुन सुरु भई जुन १३ मा देशभर सक्रिय भएको अर्यालले बताए। मौसमविद्हरूका अनुसार मनसुनी हावाको प्रभावका कारण हाल देशभर वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाले बिहीबार र शुक्रबार देशका अधिकांश स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाले कर्णाली, गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशका केही भूभागमा आगामी २४ घण्टामा भारी वर्षाको सम्भावना रहेको जनाउँदै पहाडी क्षेत्रमा पहिरो जान सक्ने तथा नदीनाला तथा खोलामा पानीको सतह बढ्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ। आगामी २४ घण्टा बाढीपहिरो तथा वर्षाको कारण यातायातमा प्रभाव पर्न सक्ने महाशाखाको भनाइ छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot