Logo

स्याउ तस्करीमा प्रदेश प्रहरी कार्यालयकै संलग्नता पुष्टि



विराटनगर, २२ असार । भारतमा चिनियाँ स्याउ तस्करी घटनामा प्रदेश प्रहरी कार्यालय विराटनगरकै संलग्नता खुलेको छ । प्रदेश कार्यालयमा सूचना संकलनमा खटिएका सइ किरण मोक्तानको समेत त्यसमा संलग्नता पुष्टि भएको हो । उनले तत्कालिन प्रदेशका डिआइजी ईश्वरबाबु कार्कीलाई समेत मिलाउने भन्दै गिरोहसँग पैसा लिएको पुष्टि भएको छ । मोक्तानलाई हालै कारबाही गरिएको छ ।

सुनसरीको सीमा नाकाबाट लकडाउनको समयमा तीन ट्रक चिनियाँ स्याउ सेटिङमा तस्करी भएर गएको थियो । जसमा नेपाल प्रहरीका चार र शसस्त्र प्रहरीका चार गरि आठ जना प्रहरीको सलग्नता पुष्टि भएपछि उनीहरुमाथि विभागीय कारबाहीमा गरिएको छ ।

२९ जेठ राती तस्करी गरेर भारत लगिएको स्याउ ३० जेठ विहान ३ बजे भारत विहार राज्यको सुपौल जिल्ला अन्र्तगतको विरपुरमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले बरामद गरेको थियो । तीन ट्रक ( एक हजार तीन सय ५० कार्टुन चिनियाँ स्याउ नियन्त्रणमा लिएपछि लकडाउनमा प्रहरीले नै तस्करी गराउने गरेको खुलेको थियो । त्यसपछि नेपाल प्रहरी र शसस्त्र प्रहरी दुवै निकायले अलगअलग छानविन समिति गठन गरेर छानविन गरेका थिए ।

प्रदेश १ प्रहरी एसएसपी राजेन्द्र चौधरी र शसस्त्र प्रहरीले एसएसपी प्रकाश थापाको नेतृत्वमा अलगअलग छानबीन समितीको प्रतिबेदन अनुसार तस्करीमा संलग्न रहेको पुष्टी भएपछि सुनसरी श्रीपुरजब्दी प्रहरी चौकीका असई टेकबहादुर कार्की, हवल्दार विरेन्द्रकुमार यादव, हरिपुर चौकीका असई भुपराज पोखरेल र प्रदेश १ प्रहरी कार्यालय विशेष अनुसन्धान समुहका सइ किरण मोक्तान विभागीय कारबाहीमा परेका छन् । छानविनका क्रममा निलम्बन गरिएका भण्टाबारी प्रहरी चौकीका सई र कोशीकटान प्रहरी चौकीका असई आसनारायण माझीको भने संलग्नता नदेखिएको बताइएको छ ।

यता स्याउ तस्करी आरोपमा शसस्त्र प्रहरी बल प्रदेश १ मुख्यायल बराहबाहिनीले पनि एक इन्स्पेक्टरसहित चार जनालाई कारबाही गरेको छ । डिआईजी बंशिधर दहालका अनुसार छानविन समितिको प्रतिवेदनअनुसार सिमानाका लौकहीमा रहेको विओपीका इन्स्पेक्टरसहित चार जनालाई विभागीय कारबाही गरिएको हो ।
यो प्रकरणमा केही सिनियर प्रहरीसम्मै पैसा पुगेको भएपनि तल्लो तहलाई कारबाही गरेर हाकिमहरुलाई जोगाइएको प्रहरी अधिकारीहरु बताउँछन् ।-दृष्टिबाट/File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot