चीनका लागि पूर्व नेपाली राजदूत टंक कार्कीले नेपाल–चीनबीच अहिले सुमधुर सम्बन्ध रहेको बताएका छन् । नेपाल र चीन असल छिमेकी भएकोले दुई देशबीचका राजनीतिक प्रणालीका भिन्नताले द्धिपक्षीय सम्बन्धमा कुनै तलविथल नगरेको पनि उनको भनाई छ । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । ‘नेपालका सबै राजनीतिक शक्तिहरु सुदृढ बनुन्, सबै बलिया बनुन्, एकतावद्ध बनुन् र आफना राष्ट्रिय हितका साथ अगाडि बढोस् भन्ने उनीहरुको चाहना हुन्छ ।’–उनले अघि भनेका छन्–‘उनीहरु कम्युनिष्ट नेताहरुसंग भेट्दाखेरि होस् या नेपाली काँग्रेसलाई भेट्दाखेरि होस् या अरु कसैसंग, हिजो राजासंगै डिल गर्दाखेरि पनि उनीहरु नेपालमा एकताकै पक्षमा देखिन्थे । आजपनि उनीहरु त्यही पक्षपोषण गरिरहेका छन । यो अनावश्यक विभाजनले त्यसमाथि पनि मूलधारका पार्टीहरुको विभाजनले, त्यसमाथि पनि अप्रत्यक्ष ढंगले सम्बन्धित पार्टीलाई मात्रै होईन कि त्यसका छिमेकी मुलुकमा नै पर्छ भन्ने पनि उनीहरुको ठम्याई हुनसक्छ ।’ प्रस्तुत छ कार्कीसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :
नेपाल–चीन सम्बन्ध कस्तो छ ?
हामीसंग त्यस्तो खासै समस्या छैन । दुई देशको सम्बन्ध भनेको दुई छिमेकीको बीचमा हुनुपर्ने जस्तो सम्बन्ध हो । एउटा असल मैत्रीपुर्ण सम्बन्ध छ । हामीहरुले फिल गर्नुपर्ने एक–अर्काका समस्याहरु छैनन् । हामी भिन्न आर्थिक राजनैतिक प्रणालीमा छौँ । त्यही पनि हामी छिमेकी मुलुक हौँ । र, हाम्रा ती राजनैतिक प्रणालीका भिन्नताले हामीहरुको सम्बन्धमा कुनै तलविथल गरेको छैन ।
अहिले नेपालको राजनीतिमा चीनको चाहना दलहरुले किन पुरा गरेनन् ? जस्तै नेकपा नफुटोस भन्ने थियो, त्यो चाहाना पुरा भएन नि ? फेरि अहिले एमाले नफुटोस् भन्ने चाहान्छ त्यो पनि पुरा नहुने संकेत छ, के भन्नुहुन्छ ?
चीनको विदेश नीतिको मुल्य प्रणालीमा हेर्ने हो भने चीनले जो÷जोसंग दौंत्य सम्बन्ध कायम गरेको छ, खासमा तिनी छिमेकी मुलुकहरुमा शान्ति, शिक्षा र विकासको बाटोमा अग्रसर छन । उनीहरुसित स्थिरता बनोस, एकता बनोस, शान्ति र विकासका माध्यामबाट सम्बन्धहरुलाई अझ प्रगाढ बनाउन सकिन्छ । अप्रत्यक्ष ढंगले आफूलाई पनि लाभ होस् भन्ने त्यो सिद्धान्तमा छ । जबकी केही मुलुकहरु मुलुकभित्र टुटफुट होस् भन्ने चाहन्छन् । त्यसैले गर्दा नेपालका राजनीतिक शक्तिहरुको बीचमा एकता खोज्यो भने त राम्रो कुरा त हो नि ।
त्यसोभए चीन नेपालको कुनै पनि पार्टी नफुटोस् भन्नेमा छ ?
नेपालका सबै राजनीतिक शक्तिहरु सुदृढ बनुन्, सबै बलिया बनुन्, एकतावद्ध बनुन् र आफना राष्ट्रिय हितका साथ अगाडि बढोस् भन्ने उनीहरुको चाहना हुन्छ । उनीहरु कम्युनिष्ट नेताहरुसंग भेट्दाखेरि होस् या नेपाली काँग्रेसलाई भेट्दाखेरि होस् या अरु कसैसंग, हिजो राजासंगै डिल गर्दाखेरि पनि उनीहरु नेपालमा एकताकै पक्षमा देखिन्थे । आजपनि उनीहरु त्यही पक्षपोषण गरिरहेका छन । यो अनावश्यक विभाजनले त्यसमाथि पनि मूलधारका पार्टीहरुको विभाजनले, त्यसमाथि पनि अप्रत्यक्ष ढंगले सम्बन्धित पार्टीलाई मात्रै होईन कि त्यसका रिपरकसन मुलुकमा नै पर्छ भन्ने पनि उनीहरुको ठम्याई हुनसक्छ ।
चीनको चाहना छ–केपी ओली र माधवकुमार नेपालको बीचमा एकता र सम्झौता होस् भन्ने, त्यो सम्भव छ ?
एकता उनीहरुको सदिक्षा हो, एकता गर्ने भने भनेको त एमालेभित्रै हो । त्यो अहिले माधव नेपाल र केपी ओली भनेको त त्यहीभित्रका विभिन्न धारका प्रतिनिधि पात्रहरु हुन । तर, उनीहरु दुई जना मात्र होइर्न, सिङ्गो त्यो पार्टीको र्याङ एण्ड फाईल उनीहरु प्रष्ट हुनुपर्छ । निश्चित् रुपले नेकपा एमालेको विभाजन उसको निम्ति आत्मघाती छ नै, यो राष्ट्रको निम्ति पनि सुखत हुनेछैन । त्यसैले गर्दा यो नकारात्मक पक्षलाई एमाले पँक्ति हिजोभन्दा आज जाग्नुभएको छ । र, त्यहाँभित्र एकताको लागि दबाव छ । अन्ततः यो विभाजनमा गैहाल्छ जस्तो मलाई लाग्दैन् ।
प्रधानमन्त्री ओलीले कार्यदललाई ब्युँताउनुभएको छ, कार्यदलका सदस्यहरुले हिजो कुराकानी पनि गरे र अब माधवकुमार नेपालले र केपी शर्मा ओलीले एकताको सहमति पत्रमा हस्ताक्षर गर्ने भन्ने कुरा आएको छ, यो सम्भव छ त ?
मैले अघि नै भनिहाले नि एमाले भनेको एउटा यसको ईतिहास तपाईले भन्नुहुन्छ भने साना/साना दलहरुबाट मिल्दै मिल्दै एकतावद्ध हुँदै आएको छ । र, एमालेभित्रको ठुलो एसेट भनेको एकताको भावना हो । जस्तो अरु कतिपय शक्तिमा के देखिन्छ भने हरेका सानातिना गल्तिको छिनाफानो गर्नैपर्ने कतिपय विवाद स्थगन गर्नै नजान्ने, कतिपय विवादहरुको प्राथमिकता गर्न नजान्ने, त्यसले गर्दाखेरी अरु दलहरुमा विभाजनको प्रवृत्ति देखिन्छ अरु दलहरुमा भने एमालेभित्र मूलतः त्यो स–साना दलहरुबाट गोलवन्द हँुदै आएको पार्टी भएको हुनाले पनि मलाई के लाग्छ भने एमालेले विभाजनको बाटो रोज्ने छैन् । एकताकै बाटो रोज्ने छ । तर, एकताको बाटो रोजिरहँदाखेरी पार्टीभित्र विकसित भैरहेका विकृतिहरुलाई अङगालो हाली राख्ने होईन । त्यसलाई थाँती राखेर ती विकृतिहरुलाई सुधारेर जाने छ । विकृति भनेको नेतृत्वहरुमा हुर्किँदै गरेका आत्मकेन्द्रीत प्रवृत्तिबाट नेकपा एमाले पङक्तिले आफुलाई जोगाउन सक्नुपर्छ । त्यो एकपटक फेरि सामूहिक नेतृत्व र सामूहिक बुद्धिमा पार्टीलाई चलाउने त्यो जुन अतितको गौरव छ । त्यो अतितको गौरवबाट र अतितको विरासतलाई एमालेले एकपटक सम्झेर यसलाई पूनःस्थापित गर्नुपर्नेछ ।
त्यसोभए नेकपा एमाले फुट्दैन भन्ने तपाईँको निश्र्कष हो ?
एमाले फुट्दैन् । कहीँ/कतै एक/दुई जना कतै जान सक्छन । केही व्यक्तिहरु तरवितर होलान तर एमाले फुट्छ भन्ने मलाई लाग्दैन् ।
त्यसोभए माधवकुमार नेपाल अब एमालेमा नै रहनुहोला कि बाहिरिनु होला त ?
माधव नेपाल एक जना व्यक्तिको के कुरो भयो र ? माधवजी आँफैमा यति लामो समय पार्टीको नेतृत्व गर्नुभएको मान्छे । यो पार्टी उहाँ आँफैको सिर्जना पनि हो । त्यसैले गर्दा उहाँले चटक्क छाडेर जानुहुन्छ जस्तो मलाई लाग्दैन् ।
तर, शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनको लागि गरेको हस्ताक्षर फिर्ता लिन दिएको निर्देशन त माधव नेपालले अस्विकार गर्नुभएको छ नि ?
ती त आन्तरिक कुरा हुन् । वार्ता र छलफल गरेर टुङग्याउन कतिपय कुराहरु त ओलीजी आँफैले विकास गरेको समस्या पनि हो । उहाँको कार्यशैलीले उत्पन्न गरेका समस्या पनि हुन । ती समस्यहरु पार्टीभित्र छलफल गरेर नै टुङग्याउन सकिन्छ । र, कतिपय आन्तरिक छलफलबाट टङग्याईने छन । आन्तरिक छलफल होला र त्यसले एउटा निश्र्कष निकाल्लाजस्तो लाग्छ ।
अहिलेको अवस्थामा एमाले यो अवस्थामा आउनुको कारण भनेको अध्यक्ष केपी ओली नै मूल कारक हो त ?
मुलतः के भने उहाँले पार्टीको नेतृत्व गर्नुभएको कारणले पार्टीको प्रमुख नेता भएको कारणले अहिले एमालेमा आइरहेको समस्याको मुल कारण भनेको ओली नै हो । यसको मूल जिम्मेवारी पनि उहाँलेनै लिनुपर्छ । अरुको भुमिका गौण हो । एकलौटी केपी ओलीकै करणले मात्रै हो भनेर म भन्दिन् । तर, मूल रुपले केपी ओली नै जिम्मेवार हो ।
चिनियाँ सि जिनपिङले अब १ सय ६० भन्दा बढि देशका नेताहरुलाई सम्वोधन गर्दै हुनुहुन्छ, यो संवोधन किन र के का लागि ?
आज जुन विश्व व्यवस्था छ, यो पुनःनिर्माणको प्रोसेसमा छ । हिजोको जस्तो १९९९ पछाडि एक प्रकारले विस्थापन गर्न खोजिएको एकल धु्रवीय विश्व व्यवस्था अब त्यो कायम हुने अवस्था छैन । त्यो चर्मराईरहेको छ । त्यसलाई थेग्नको निम्ति अहिले एउटा जमर्को के भैरहेको छ भने त्यो बहुध्रुवीय विश्व व्यवस्था होईन कि दुई धु्रवीय विश्व व्यवस्था, त्यो एउटा विश्व प्रणालीको निम्ति पश्चिमाहरुले दबाव दिईरएका छन । मलाई लाग्दैन् कि त्यो व्यवस्था पनि दिगो युगको प्रविधि हो जस्तो । १९९९ यतामात्रै पनि एशिया, अफ्रिका र ल्याटिन अमेरिकामा थुप्रै मुलुकहरु हिजोभन्दा प्रभावकारी भूमिकाका साथ विश्व रंगमञ्चमा उपस्थित् भए त्यसले गर्दा अन्ततः मलाई के लाग्छ भने यो बहुध्रवीय विश्व व्यवस्थाभित्रै जाने हो । यो संक्रमणकालका समस्याहरु के हुन् ? गन्तव्य के हो ? खासगरेर चीन आजको विश्व परिवेशमा के सोचिरहेको छ ? कसरि विश्वभरिका सारा मानव जातिहरुको लागि र विश्व व्यवस्थालाई निर्देशित गर्न सकिन्छ भन्ने विचार राख्न होला । यो चाहीँ गएको १०० वर्षभित्रमा पार्टीहरुले तिनीहरुका अनुभवहरु विश्वका अरु पार्टीहरुको बीचमा पनि राख्न चाहिरहेको होजस्तो मलाई लाग्छ ।
नेपालको तर्फबाट पनि शेरबहादुर देउवा, प्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, बाबुराम भट्टराई, उपेन्द्र यादव ,पशुपति शम्शेर जबराहरुको पनि सहभागिता हुँदैछ, यसको संकेत दलहरुको बीचमा पनि चीनले राम्रो सम्बन्ध राख्न चाहेको हो ?
यसमा त शंकै छैन । एउटा जिम्मेवार मुलुकले अन्य मुलुकसंग कुराकानी गर्दा त्यहाँ त सुमधुर र राम्रो समन्ध राख्ने हो । उनीहरुको सम्बन्धित मुलुकको राजनैतिक विभाजन भनेको त्यही मुलुकले हल गर्ने हो । हामीले त बहुदलीय व्यवस्था अपनाएका छौँ । बहुदलीय व्यवस्थामा धेरै पार्टी हुनु भनेको स्वभाविक हो । त्यो मुलुकले मात्रै प्रगति गर्छ, ति सबै मुलुकहरुमा एक किसिमको न्यूनतम सहमति हुन्छ । न्युनतम राष्ट्रिय लक्ष्यप्रति उनीहरुको एकता हुन्छ । हरेक विषयमा झगडा गर्नु मात्रै राजनीति होईन भन्ने कुराहरुबाट माथि उठेर आफ्ना राष्ट्रिय हितका र विकासका लक्ष्यहरुसंग सबैले काँधमा काँध मिलायो भने कुरा हुने हो । file photo