Logo

गुट बचाएर सभापतिका लागि बढ्न खोज्दै पौडेल



काठमाडौं, २५ असार । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल यतिबेला चुनौतीमा छन् । उनलाई आफ्नै गुट जोगाउन हम्मे परेको छ ।

काँग्रेसको १४औं महाधिवेशन नजिकिदै गर्दा पौडेल समूहमा सभापतिका आकांक्षी धेरै देखिएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल आफै सभापतिका दाबेदार छन् । उनले आफ्नो समूहका अरु नेताहरुलाई साथ दिन आग्रह गरिसकेका छन् ।

महामन्त्री डा. सशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यहरु डा. शेखर कोइराला र सुजाता कोइराला पनि दाबेदार छन् । पौडेल समूहमा उनीसहित ५ जनाले सभापतिको दाबेदारी प्रस्तुत गरिसकेका छन् ।

आफ्नै समूहभित्र सभापतिका आकांक्षी बढी देखिएपछि पौडेललाई गुटको व्यवस्थापन गर्न कठिन भएको छ । उनी सहमतिको प्रयास निकाल्न खोज्दैछन् । समूहको बैठक गर्दै आएका छन् ।

आज वत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा पौडेलले आफ्नो समूहको बैठक डाकेका छन् । बैठकमा महाधिवेशनमा मिलेर जाने, क्रियाशील सदस्यता वितरणको विवादमा बलियो अडान लिने विषयमा छलफल हुने बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot