Logo

उपभोक्ताको स्वाथ्यममाथि चरम खेलबाड



काठमाडौं, साउन १५। उद्योगीले बजारमा गुणस्तरहीन खाद्यसामग्री बिक्रीवितरण गरी उपभोक्ताको स्वाथ्यमा खेलबाड गर्ने गरेको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आर्थिक वर्ष २०७७÷७८ मा गरेको खाद्य उद्योग तथा बजार अनुगमनका क्रममा उद्योगीले गुणस्तरहीन खाद्य तथा पेय पदार्थ बजारमा विक्री वितरण गरी उपभोक्ताको स्वाथ्यमा खेलबाड गर्ने गरेको पाइएको हो ।

विभागका प्रवक्ता मोहनकृष्ण महर्जनका अनुसार सबैभन्दा धेरै प्रशोधित पिउने पानी गुणस्तरहीन पाइएको छ । आर्थिक वर्ष २०७७÷७८ मा विभागले खाद्य उद्योग तथा बजार निरीक्षण अनुगमनमा २ हजार ८ सय ३४ नमुना संकलन गरेको थियो ।

प्रवक्ता महर्जनले खाद्य उद्योग तथा बजार अनुगमन तथा निरीक्षण गरी नमुना संकलन गर्दा खाद्य ऐन तथा नियमअनुसार न्यूनस्तर तथा दूषित उत्पादन तथा बिक्री वितरण गरेको कसुरमा १ सय थान मुद्दा विभिन्न जिल्ला प्रशासन कार्यालय तथा जिल्ला अदालतमा दायर गरेको बताए । प्रवक्ता महर्जनले जसमध्ये सबैभन्दा बढी गुणस्तरहीन दूषित प्रशोधित पिउने पानी बजारमा पठाउने १६ उद्योगमाथि मुद्दा दायर भएको बताए ।

यसैगरी, बेकरी तथा बिस्कुटका १३ वटा, तेल तथा घिउका ११ वटा, दानाका नौवटा, तयारी चाउचाउ सातवटा, मसलाका सात, दालमोठ भुजिया पाँच, सस पाँच मुद्दा दायर भएका छन् । यसैगरी, दलहन चारलगायत मिठाई, दूध दही, काजु किसमिस, चामल, बियर, मसला, खुर्सानीको धूलोजस्ता विभिन्न खाद्य पदार्थका रहेका छन् । १ सय मुद्दामध्ये ४० वटा मुद्दा न्यून गुणस्तरका, २६ वटा मुद्दा दूषितका २६ वटा मुद्दा लेबललगायतका विवरण नमिलेका, तथा बाँकी आठवटा मुद्दा खाद्य ऐननियम निर्देशिका उलंघनसम्बन्धी छन् ।

खाद्य ऐन, २०२३ बमोजिम दूषित तथा न्यून गुणस्तरका मुद्दा सम्बन्धित जिल्ला अदालतमा र अन्य मुद्दा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा दायर हुने व्यवस्था रहेको छ । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot