काठमाडौं, साउन २० । सर्वोच्च अदालतले बैंक तथा वित्तीय संस्थालाई अनिवार्य सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने व्यवस्था नगर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीशहरू अनिलकुमार सिन्हा, कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासले २२ वटा बैंक तथा कर्मचारीहरूले दायर गरेको रिटमा सो आदेश जारी गरेको हो ।
चार दिनको निरन्तरको सुनुवाइपछि पूर्ण इजलासले कर्मचारीको पक्षमा अन्तरिम आदेश दिएको हो । यसअघिको पाँच दिन निरन्तरको सुनुवाइपछि संयुक्त इजलासमा राय बाझिएपछि मुद्दा पूर्ण इजलासमा आएको हो । न्यायाधीशहरू तेजबहादुर केसी र बमकुमार श्रेष्ठको संयुक्त इजलासको राय बाझिएको थियो ।
कर्मचारीले कोषलाई स्वेच्छिक बनाउन माग गरेका थिए । उनीहरूले संविधानअनुसार सम्पत्तिको हकमा राज्यको दाबी नहुने जिकिर गरेका थिए । सरकारी पक्षले भने ऐनअनुसार अनिवार्य हुनुपर्ने दाबी गरेको थियो । अर्थमन्त्री स्तरीय निर्णयबाट तीनवटा सरकारी बैंक कृषि, राष्ट्रिय वाणिज्य र नेपाल बैंकलाई सामाजिक सुरक्षा कोषमा जानु नपर्ने व्यवस्था मिलाइएको छ । सरकारी बैंकबाहेक अन्य २७ वटा वाणिज्य बैंकलाई भने अनिवार्य सामजिक सुरक्षा कोषमा जानुपर्ने भनिएको छ । जस कारण निजी बैंक तथा कर्मचारीहरू आन्दोलनमा उत्रिएका थिए ।
निजी क्षेत्रका स्ट्यान्डर्ड चार्टर्ड र लक्ष्मी बैंक कोषमा आबद्ध भइसकेका छन् । मुद्दा हालेपछि नेपाल एसबीआई बैंक पनि कोषमा दर्ता भएको छ । २१ वटा बैंकका युनियन र कर्मचारीले अदालतमा मुद्दा लडिरहेका छन् । राजधानी दैनिकबाट