Logo

रौतहटमा मानव अधिकार अनुगमन समिति गठन, संयोजकमा प्रेमचन्द्र झा



रौतहट, २४ साउन । रौतहट जिल्लामा पछिलो समय मानव अधिकार उल्लंघनका घटना बढीरहेको बेला मानव अधिकार अनुगमन समिति गठन भएको छ । मानव अधिकार उल्लंघनका घटना बढेको र दोषीले उन्मुक्ति पाउन थालेपछि रोकथाम तथा नियन्त्रणका लागि ७ सदस्यीय जिल्ला स्तरीय मानव अधिकार अनुगमन समिति गठन भएको हो।

राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधि अर्थात मानव अधिकार अधिकृत मनमाया राणाको विशेष उपस्थितीमा नेपाल पत्रकार महासंघ रौतहट शाखाको कार्यालय गौरमा शुक्रवार बसेको बैठकले उक्त समिति गठन गर्ने तथा पदाधिकारी चयन गर्ने निर्णय गरेको हो ।
बैठकबाट समितिको संयोजकमा नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झा चयन भएका छन् ।

अध्यक्ष झाको संयोजकत्वमा गठित मानव अधिकार अनुगमन समितिको सदस्यहरुमा नेपाल वार एसोसिएसनका जिल्ला अध्यक्ष राजाराम यादव, गैर सरकारी संस्था महासंघका अध्यक्ष रामपुकार यादव लगायतलाई सर्वसहमतिले चयन गरिएको छ ।

जिल्लामा केही दिनयता घरेलु हिंसा, बलात्कार, यौन दुव्र्यवहार, वालविवाह, गालीगलौज, कुटपिट लगाएतका घटनामा वृद्धि भएको छ । यस्ता घटनाका दोषी कार्यवाहीको भागिदार हुनुपर्नेको सट्टा उन्मुक्ति पाउने गरेको र पिडितले न्याय नपाउने प्रवृति बढेको छ । तर, अब कुनै पनि घटनाका पिडितलाई जसरी पनि न्याय दिलाउने र पिडक अर्थात दोषीलाई कानुनी कार्यवाही गर्नका लागि दवाव सृजना गर्ने काम यो गठित समितिले गर्ने नवगठित समितिका संयोजक एवं पत्रकार महासंघ रौतहटका अध्यक्ष झाले बताए ।

जिल्लामा अब कुनै पनि घटना भए घटनास्थल पुगेर अनुगमन गर्ने र सत्य तथ्य पत्ता लगाउने, पैरवी गर्ने, त्यसको पुर्ण विवरण सहितको प्रतिवेदन सम्बन्धित ठाउँमा पठाउने काम आफुहरु गर्ने संयोजक झाले जानकारी दिए ।

कुनै पनि घटनाको सत्य तथ्य पत्ता लगाई दोषीलाई कार्यवाही र पिडितलाई न्याय दिलाउनका लागि दवाव सृजना गर्ने काम आफुहरु गर्ने भएको हुँदा अबदेखी कुनै पनि अपराधीले अपराध गरेर उन्मुक्ति पाउन नसक्ने उनले स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot