Logo

अग्नि सापकोटा माओवादी केन्द्रको छापामार या गुरिल्लाजस्ता देखिएः सूर्य थापा



काठमाडौं, भदौ ११ । नेकपा एमालेका नेता सूर्य थापाले सभामुख अग्निप्रसाद सापकोटा माओवादी केन्द्रको छापामार या गुरिल्लाजस्तो भूमिकामा देखिएको आरोप लगाएका छन् । १४ जना सांसदलाई हटाउने एमालेको निर्णय कार्यान्वयन नगरेकाले सभामुख सापकोटाको पदीय आचरण र न्यूनतम योग्यतामा प्रश्न उठेको बताए ।

आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलालाई अन्तर्वार्ता दिँदै नेता थापाले भने, “नेकपा एमालेले साउन २५ को निर्णय भनीकन भदौ १ गते माधवकुमार नेपाललगायत १४ जना सांसदलाई पदमुक्त गर्न सभामुख अग्निप्रसाद सापकोटालाई पत्र पठाएको थियो ।

सभामुख सापकोटाले आजसम्म त्यसको कार्यान्वयन गर्नुभएन । उहाँले सभामुखभन्दा पनि नेकपा माओवादी केन्द्रको छापामार या गुरिल्लाको भूमिका खेल्नुभयो । टोपबहादुर रायमाझी, गौरीशंकर चौधरीलगायतको हकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पत्र पुग्ने बित्तिकै संसद्मा सुनाउनुभयो । तर एमालेको हकमा त्यसो गर्नुभएन । उहाँ रामचन्द्र पौडेलले २०५४ मा एमाले फुटाउन खेलेको भूमिकामा देखिनुभयो। अब हामी कानुनीलगायत सबै खालको उपाय अपनाएर उहाँको धरातल देखाइदिन्छौं ।” तर थापाले तत्काल सभामुखलाई महाभियोग लगाउनेबारे नसोचेको पनि उनले स्पष्ट पारे ।

कार्यक्रममा उनले सभामुखलाई प्रचण्डको चौवन्नी कार्यकर्ता र राजनीतिक ठग भन्न पनि बाँकी राखेनन् । उनले थपे, “अग्नि सापकोटाले आफूलाई न्यायाधीश ठान्नुहुन्न । संसद्मा विचाराधीन छ भनेर लोकाचार गर्ने होइन । यो उहाँका निम्ति विचाराधीन नै विषय होइन । सचिवालयका तर्फबाट तत्काल सूचना टाँस गर्नुपर्थ्र्यो । अहिले त उहाँ दाँत दुख्यो भनेर बेपत्ता हुनुभएको छ । उहाँ के डामेर छाडेको साँढे हो ? के टुँडिखेलमा खरिको बोटमुनि उभिन सक्नुहुन्छ ? उहाँ नालायक पात्र ठहरिनुभएको छ ।

नेता थापाले निर्वाचन आयोगले पनि निष्पक्ष भूमिका निर्वाह गर्न नसकेको आरोप लगाए । उनले भने, “निर्वाचन आयोगले पार्टीले निष्कासन गरिसकेका प्रकाश ज्वालाललगायतलाई केन्द्रीय सदस्यमा गणना गरिसकेको छ । पार्टीले निष्कासन गरेका माधवकुमार नेपालसहित १४ जना सांसदलाई पनि केन्द्रीय सदस्य गणना गरेको छ । यसमा कैफियत छ, गल्ती छ ।”

उनले माधवकुमार नेपाल प्रचण्डको स्याटेलाइट र शेरबहादुर देउवाको बैसाखी मात्र भएको पनि आरोप लगाए । उनले भने, “जुन गोरुको सिङ छैन, उसको नाम तीखे राखिएको छ । तुच्छतम स्वार्थका निम्ति पार्टी फुटाएर नाम एकीकृत समाजवादी राख्ने ? उहाँ हिजोदेखि हाम्रो पार्टीको अभिलेखबाट हट्नुभएको छ । अब उहाँ शेरबहादुर देउवाको अनुचर र अर्दली मात्र हो । कम्युनिस्ट बिग्रियो भने कुहिएको अण्डाजस्तो गन्हाउँछ भन्थे, उहाँ त्यस्तै हुनुभएको छ ।”

साथै उनले माधव नेपालमाथि पृथ्वी सुब्बा गुरुङ र शंकर पोखरेललाई नहटाएसम्म सास नफेरेको पनि बताए । भीम आचार्य र अष्टलक्ष्मी शाक्यलाई बहुमत सांसदले मुख्यमन्त्रीमा टिकाउने उनको दाबी छ ।ओलीले ल्याएको अध्यादेश र देउवाको अध्यादेश फरक भएको जिकिर पनि उनले गरे ।

उनले भने, “ओलीले उपेन्द्र यादवका सांसदले हामी निस्सासियौं, फुट्न पनि नसक्ने, मिल्ने पनि नसक्ने भयौं भनेपछि केन्द्रीय समिति वा संसदीय दलको ४० प्रतिशत भए विभाजन गर्न सकिने अध्यादेश ल्याउनुभएको हो । त्यो अध्यादेश जारी भए पनि लागू भएन । दल विभाजन हुन पाएन । त्यसैले देउवाले लोकतन्त्र बचाउन अध्यादेश ल्याएको भन्नु प्रचण्डको पागलपूर्ण प्रलाप मात्र हो ।” त्यतिबेला ओलीले अध्यादेश ल्याउँदा देउवाले भित्र समर्थन गर्ने, बाहिर विरोध गरेको जस्तो गरेका पनि उनले आरोप लगाए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot