Logo

एमालेमा उमेर हद र पदाधिकारी चयन प्रक्रियाको मुद्दा



काठमाडौं, ३ असोज । नेकपा एमालेले विधान महाधिवेशनमा प्रस्तुत गर्ने प्रस्तावबारे छलफल केन्द्रित गरेको छ । आज बसेको स्थायी कमिटी बैठकमा प्रस्तावमा राखिएका बुँदाबारे छलफल भएको छ ।

आजको बैठकमा राजनीतिक, सांगठतिक, विधान संशोधनसम्बन्धी प्रस्तावमा छलफल भएको प्रचार विभाग प्रमुख समेत रहेका एमाले सचिव योगेश भट्टराईले जानकारी दिए । उनका अनुसार प्रस्तावबारे सदस्यहरुले सुझाव दिने क्रम चलिरहेको छ । भोलि पनि सुझाव दिनेबारे छलफल चल्ने बताइएको छ ।

सुझावपछि आवश्यक संशोधन गरी असोज ८ र ९ गतेका लागि तय भएको केन्द्रीय कमिटीबाट प्रस्ताव अनुमोदन गरी विधान महाधिवशेनमा पेश हुनेछ । यसपटक विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रस्तावमा निर्वाचनको शैली र उमेरहद महत्वपूर्ण मानिएको छ ।

एमालेभित्र अध्यक्ष र महासचिव मात्र निर्वाचित गर्ने प्रस्ताव ल्याइएको छ । विशेषगरी अध्यक्ष केपी शर्मा ओली पक्षधरले त्यस्तो प्रस्ताव ल्याएका हुन् । निर्वाचित अध्यक्षको कार्यकालबारे पनि सुझावहरु आइरहेको बुझिएको छ ।

एमालेमा उमेरहद नवौं महाधिवेशनले पारित गरेको थियो । जसमा ७० वर्ष पुगेपछि पार्टीको नेतृत्व र नेतृत्वदायी पदमा रहन पाइनेछैन । दशौं महाधिवेशनमा पनि उमेरहद कायमै राख्न प्रस्ताव गरिएको छ ।

उमेरहद विधानमै उल्लेख भएमा केपी शर्मा ओली अध्यक्ष रहन पाउने छैनन् । त्यसैले यो पारित हुने सम्भावना लगभग छैन । उमेरहद लागू भएमा अमृतकुमार बोहरा र केशव बडालले पनि एमालेको राजनीतिबाट सन्यास लिनुपर्ने हुन्छ । त्यसपछिका पुस्ताका नेताहरुमध्ये इश्वर पोखरेल, भीम रावल, अष्टलक्ष्मी शाक्यले एक कार्यकाल मात्र पार्टीको महत्वपूर्ण पदमा रहन पाउनेछन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot