Logo

विशिष्ट पाहुनाको आगमनसँगै पर्यटन चलायमान हुने आशा



पोखरा, १३ असोज । कोभिड–१९ निर्मूल भएको छैन तर १८ महिनादेखिको एउटा त्रास भने केही घटेको छ । खोपको सहजतासँगै अहिले मानिसलाई कोभिडबाट सुरक्षित हुन सकिन्छ भन्ने आशा पलाउँदै गएको छ । नेपाल सरकारले झन्डै १८ महिनादेखिको बन्दाबन्दीबीचमा केही खुकुलो र अहिले लगभग खुला नै गरिसकेको छ । योसँगै असोज १ गतेदेखि पोखराका पर्यटकीय गन्तव्यहरु पनि खुला भएका छन् ।

पोखराको पर्यटनलाई चलायमान बनाउन पर्यटन क्षेत्र सम्बद्ध सङ्घसंस्थाले अग्रसरता देखाएका छन् । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स (नाट्टा) गण्डकीको टोली भदौ १६ गते आन्तरिक पर्यटन पुनरुत्थान गर्ने उद्देश्यले प्रदेश २ को भ्रमणमा पुग्यो । पोखरा र सिमरालाई हवाई उडानबाट जोडेर आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने विषयमा भ्रमण लक्षित थियो ।

सो अवसरमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई गण्डकी प्रदेश सरकारका तर्फबाट पोखरा घुम्ने निम्ता दिइएको नाट्टा गण्डकीका महासचिव कमला गिरीले जानकारी दिए । गिरीका अनुसार निमन्त्रणलाई स्वीकार गर्दै मुख्यमन्त्री राउतसहितको एक टोलीले दुई रात तीन दिनको बसाइमा पोखराका विभिन्न पर्यटकीय गन्तव्य भ्रमणसमेत गरे भने अन्तर प्रदेश पर्यटन प्रवद्र्धनमा सहकार्यका लागि धार्मिक, औद्योगिक, थप हवाई सेवा लगायतका विषयमा सम्झौतासमेत भयो ।

यसलगत्तै विश्व पर्यटन दिवसका दिन, २७ सेप्टेम्बरको पूर्वसन्ध्यामा पनि पोखराको लेकसाइडमा बेग्लै चहलपहल थियो । विश्व पर्यटन दिवसका अवसरमा गण्डकी प्रदेश सरकारको निमन्त्रणमा नेपालका लागि विभिन्न ११ देशका राजदूतसहित विशिष्ट कूटनीतिज्ञहरूको पोखरा आगमनले पोखराको लेकसाइडमा चहलपहल बढाएको थियो भने व्यवसायीमा केही आशा पलाएको थियो ।

विशिष्ट पाहुनालाई पोखरा विमानस्थलमा भव्य स्वागतसँगै त्यही साँझ गण्डकी प्रदेश सरकारद्वारा आयोजित रात्रिभोजमा सरिक गराइएको थियो । पोखराको पर्यटनलाई विश्वमा चिनाउने र पोखरा खुला र सुरक्षित छ भन्ने सन्देश दिने कार्यक्रमको उद्देश्य थियो । विशिष्ट पाहुनालाइ सेप्टेम्बर २७ का दिन टे«किङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चलको समन्वयमा एसियाकै नमूना भनेर दाबी गरिएको कास्कीको अन्नपूर्ण गाउँपालिकाको नौडाँडाबाट देउरालीसम्मको तीन किलोमिटर अपाङ्गमैत्री मार्ग हुँदै कास्कीकोटको ऐतिहासिक कुलमण्डल शाहको दरबारसम्मको हाइकिङ गराइएको थियो । उनीहरुलाई पञ्चेबाजासहित स्थानीयवासीले फूलमालासहित भव्य स्वागत गरेका थिए ।

पोखराबाट बिहान छर्लङ्ग खुलेको हिमशृङ्खलाको मनमोहक दृश्यसँगै कास्कीकोट पुग्दा बिस्तारै विभिन्न आकृतिमा कुहिरोले छोप्दै देखिँदै गरेका हिमालहरुको प्राकृतिक सुन्दरता अवर्णित थियो । विशिष्ट पाहुनाहरु उक्त दृश्य घरी आँखामा त घरी मोबाइल र क्यामेरामा कैद गर्न अभ्यस्त देखिन्थे । रासस



प्रतिक्रिया दिनुहोस्