Logo

कांग्रेस महाधिवेशनः गोपालमानले धोका नदिनेमा देउवा ढुक्क



काठमाडौं, मंसिर ५। नेपाली कांग्रेस १४औं महाधिवेशन नजिक छ । कांग्रेसले २४ देखि २६ मंसिरसम्म काठमाडौंमा हुने महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व चयन गर्दै छ ।

कांग्रेसभित्र पार्टी नेतृत्वका लागि हालका सभापति शेरबहादुर देउवा अघि बढिसकेका छन् । उनले आफ्नो तलैसम्मको टिम बनाउन नेताहरूलाई खटाएका छन् । संस्थापन समूहबाट हालका उपसभापति विमलेन्द्र निधि र नेता गोपालमान श्रेष्ठले पनि महाधिवेशनको मैदानमा सभापतिका लागि अघि बढ्ने घोषणा गरिसकेका छन् ।

यसैगरी, संस्थापन इतर समूहबाट पनि वरिष्ठ नेता रामचन्द्र पौडेलदेखि हालका महामन्त्री डा शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेता डा शेखर कोइराला, नेत्री सुजाता कोइराला र युवा नेता कल्याण गुरुङ मैदानमा उत्रिने तयारीमा छन् ।

यस्तै, कांग्रेसभित्रको तेस्रो धारको नेतृत्व गर्दै आइरहेका नेता कृष्णप्रसाद सिटौला पनि टिमसहित मैदानमा उत्रिने भन्दै तयारी गरिरहेका छन् ।

सभापति देउवालाई उपसभापति निधि र नेता श्रेष्ठले चुनौती दिइरहेका छन् । तर, देउवा निधि र श्रेष्ठ दुवैलाई मनाउन प्रयासरत छन् । तर, पनि निधि ब्याक हुन तयार देखिएका छैनन् । श्रेष्ठले भने आफूलाई धोका नदिनेमा देउवा ढुक्क छन् ।

संस्थापन इतर समूहका आकांक्षीहरू भने एकले अर्कालाई आरोप लगाउनमा नै व्यस्त छन् । इतर समूहबाट पौडेलले आफूले सबैलाई समेटेर अघि बढ्ने भन्दै सघाउन आफ्नै समूहका नेताहरूलाई निरन्तर आग्रह गरिरहेका छन् ।

उनी गत बुधबार पूर्वमहामन्त्री सिंहलाई आफूलाई सघाउन आग्रह गर्दै उनको ठमेलस्थित निवास पुगेका थिए । यसैगरी, नेता शेखरसमेत शुक्रबार सिंहलाई फकाउन उनको निवास गएका थिए भने शनिबार महामन्त्री शशांक सिंहलाई फकाउन पुगेका थिए ।

संस्थापन इतर समूहका नेताबीच शनिबार साँझसमेत समूहबाट साझा उम्मेदवार तय गर्ने विषयमा महामन्त्री कोइरालाको निवास महाराजगन्जमा छलफल भएको थियो । सो छलफलमा सबै आकांक्षीले आआफ्नै अडान दोहो¥याएपछि सहमति हुन नसकेको आजको राजधानी दैनिकमा महेश्वर गौतमले खवर लेखेका छन्।



प्रतिक्रिया दिनुहोस्