Logo

घरेलु उद्योगमा फड्को, एक वर्षमै झन्डै २ खर्ब लगानी



काठमाडौ, मंसिर १४। मुलुकले कोरोना महामारीको कहरसँग पौंठेजोरी खेप्नुपरेको पछिल्लो एकवर्षमा लघु, घरेलु तथा साना उद्योग क्षेत्रमा भन्डै २ खर्ब रुपैयाँ लगानी भएको छ ।

वार्षिक औसत ३ देखि ४ हजारको संख्यामा थपिने साना तथा लघु घरेलु उद्योग कोरोना महामारीको संक्रमणपूर्ण एवं एकदमै संकटकालको सो अवधिमा समेत झन्डै ३५ हजारले बढेको उद्योग विभागले जनाएको छ ।

विभागका अनुसार यो अवधिमा आफूसँग भएको सानो पुँजी र ज्ञान सीपमा आधारित लघु, घरेलु तथा साना उद्योग स्थापनामा मुलुकले फड्को नै मारेको भन्नुपर्ने अवस्था छ । यसभन्दा अघिल्ला आवमा यति धेरै उद्योग दर्ता नै भएका थिएनन् ।

आर्थिक वर्ष २०७७/७८ को गत असार मसान्तसम्म देशभर यस्ता साना लगानीका उद्योगको संख्या ५ लाख २२ हजार ७ सय ३३ पुगेको छ । एक आर्थिक वर्षमा मात्रै नेपालमा ८३ हजार ३ सय ८६ वटा यस्ता नयाँ उद्योग विभागमा दर्ता भएका छन् ।

आर्थिक वर्ष २०७७/७८ मा दर्ता हुन आएका लघु, घरेलु र साना उद्योगको संख्या हालसम्मकै धेरै हो । गत आर्थिक वर्षको मात्रै तथ्यांक हेर्ने हो भने झन्डै ९० हजार नयाँ उद्यमीले यस्तो क्षेत्रमा एक वर्षमा करिब २ खर्ब रुपैयाँ लगानी गरेका छन् ।

आर्थिक वर्ष २०७७/७८ मा मुलुकभरका ७७ वटै जिल्ला र ७ वटै प्रदेशका ८९ हजार ९ सय २४ नयाँ उद्यमी यस्तो उद्योगमा लागेका छन् । सो अवधिमा कुल पुँजी १ खर्ब ८५ अर्ब २० करोडभन्दा बढी लगानीमा उनीहरूले आफ्नो सीप र ज्ञानअनुसारको लघु, घरेलु तथा साना उद्यम सुरु गरेका छन् ।

झापा, काठमाडौं, कास्की र कैलालीमा यस्ता उद्यमीहरूको संख्या करिब ३ हजार छन् भने अन्य सबैजसो जिल्लामा २ सयभन्दा बढीको संख्यामा साना उद्यम सुरु भएको विभागको तथ्यांक विवरणमा उल्लेख छ । सो अवधिमा स्थापना भएका उद्यममा ४३ हजार ५ सय ६६ महिला उद्यमी सहभागी छन् भने पुरुष उद्यमीको संख्या ४६ हजार ३ सय ५८ रहेको छ ।

यस्ता लघु, घरेलु तथा साना उद्योगले ३ लाख ११ हजार ६ सय ९३ जानलाई रोजगारी सिर्जना गर्ने बताइएको छ । जसमा पुरुषको संख्या १ लाख ९३ हजार ४ सय ११ र महिलाको संख्या १ लाख १८ हजार २ सय ८२ रहेको पनि विभागमा दर्ता भएको ती उद्योगीहरूको परियोजनामा उल्लेख छ ।

कोरोना कहरले ठूला उद्योग र अर्थतन्त्रमा असर पारिरहेका बेला उत्पादन, कृषि तथा वन र सेवामूलक क्षेत्रमा लगानीकर्ता आर्कषित भएको पनि विभागको तथ्यांकमा देखिएको छ । आर्थिक वर्षको अन्तिममा देखिएको कोरोनाको पहिलो असरका बाबजुत पनि २०७६÷७७ मा उत्पादनमूलक क्षेत्रमा ५ हजार ६ सय ७९ उद्योग दर्ता भएका थिए ।

कृषि र वनजन्यमा २२ हजार ९७ उद्योग दर्ता हुँदा सेवामूलक क्षेत्रमा १४ हजार ८ सय ७९ उद्योग भित्रिएको विभागले जनाएको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot