Logo

विवाहगाँठको अवसरमा धुर्मुसले गरे सुन्तलीको चर्चा



काठमाडौं, १४ मंसिर । हास्यकलाकारहरु सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को विवाह भएको १३ वर्ष पुगेर आज १४ वर्षमा प्रवेश गरेको छ । हास्यकलाकार तथा समाजसेवी धुर्मुस र सुन्तलीको विवाह आजकै दिन २०६५ मंसिर १४ गते भएको थियो ।

विवाहगाँठको शुभकामना दिँदै धुर्मुुसले सुन्तलीको प्रवेश भएपछि आफ्नो जीवनमा धेरै परिवर्तन भएको बताएका छन् । आफ्नो उचाँइ बढाउनुमा कुञ्जनाको योगदान रहेको भन्दै आफुले उनको सुख र खुशीको निम्ति अझै योगदान गर्न नसकेको उनले बताएका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,  ‘कुञ्जना मेरो जीवनमा प्रवेश गरेसँग धेरै कुराहरु परिवर्तन भएका छन्। मेरो जीवनले थप उर्जा प्राप्त गरेको छ। उनीसँग बिहेभएपछि नै मैले परिपक्व भएको महसुस गरेँ। व्यवहारिकता, आँट र हिम्मत गर्न उनले नै सिकाइन। जति मेरो उचाई बढाउनमा उनको योगदान छ सायद उनको सुख र खुशीका लागि मैले उनले जति योगदान गर्न सकेको छैन। ‘

उनीभित्र सच्चा माया मात्र होइन साँच्चीकै असल भावना छ। जुन कुरा मैले २०७२ सालको भूकम्पपछि महसुस गरेँ। भूकम्पले थिलथिलो पारेको घाउमा मल्हमपट्टी लगाउन आफ्नो ११ महिनाको छोरीलाई कसैको काखमा सुम्पेर प्रभावितहरुको घरमा पुग्न उनलाई त्यहि असल भावनाले प्रेरित ग¥यो। कहिँ राहत बनेर त कहिँ साहारा बनेर अनि कहिँ आवास बनेर पुग्न मन निश्वार्थ भावनाले भरिएको हुनुपर्छ। त्यसैले उनीसँग म सच्चा मन अनि निश्वार्थता पाउँछु। त्यसैले त मेरो परिवारले आज मलाई भन्दा उनीलाई नै धेरै खोज्छन् जुन कुराले मलाई गर्व लाग्छ।

ओहो ! कुञ्जनासँग बिहे भएको पनि १३ वर्ष पुरा भएर १४ बर्ष लागेछ । उनको माया,मोह र स्नेहले मलाई यी वर्षहरु केबल दिनहरु जस्तो मात्रै लाग्छन्। यति लामा वर्षहरु मलाई छिट्टै बितेका १३ दिन जस्तो लागिरहेछ। सायद मनले खाएका मान्छेसँग बिताएको समय लामो भएपनि छोटो नै लाग्छ। छिट्टै बितेजस्तो लागेपनि पुराना स्मरणहरु दिमागमा ताजा छन्।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot