Logo

कांग्रेस महाधिवेशनः दुवै गुटभित्र साझा उम्मेदवार बनाउन दबाब



काठमाडौं, मंसिर १५ । नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन परिणाम आउनेक्रम जारी रहँदा संस्थापन र इतर पक्षलाई आफ्नो समूहबाट साझा उम्मेदवार तय गर्न दबाब बढ्दै गएको छ। महाधिवेशनबाट पार्टी नेतृत्वमा टिक्न र पुग्न संस्थापन र इतर दुवै पक्षलाई आआफ्नो समूहबाट एकमात्र उम्मेदवार बनाउनुपर्ने दबाब परेको हो।

सभापतिमा संस्थापन र इतर दुवै पक्षबाट एकभन्दा बढी उम्मेदवारी परेमा पहिलो चरणमा कुनै पनि उम्मेदवारले विजयी हुन चाहिने मत ल्याउन नसक्ने बुझाइ दुवै पक्षको छ। कांग्रेसको विधानअनुसार सभापतिमा विजयी हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी ल्याउनुपर्छ, नभए बढी मत ल्याउने दुईजनाबीच दोस्रो चरणको मतदान हुन्छ। दोस्रो चरणको निर्वाचन हुने अवस्था आउन नदिन दुवै पक्षकाले आफ्नो समूहबाट एकमात्र उम्मेदवार बनाउन शीर्ष नेता र आकांक्षीलाई सुझाइरहेका छन्।

महाधिवेशनबाट सभापतिमा दोहोरिने तयारीमा रहेका शेरबहादुर देउवालाई विगतमा सँगै रहेका नेताहरूलाई समेटेर अघि बढ्न दबाब परेको छ। संस्थापन पक्षबाट उपसभापति विमलेन्द्र निधि र पूर्वउपसभापति गोपालमान श्रेष्ठले सभापतिमा उम्मेदवारी दिए पहिलो चरणमै आफ्नो पक्षमा परिणाम ल्याउन नसकिने सो समूहको बुझाइ छ।

एकले अर्काको नेतृत्व अस्वीकार गर्दै प्रतिस्पर्धामा उत्रिँदा तिक्तता बढेर जाने, त्यसबाट दोस्रो चरणमा पनि एकले अर्कालाई सहयोग गर्नसक्ने अवस्था नआउने भन्दै देउवानिकट नेताहरूले निधि र श्रेष्ठलाई विश्वासमा लिन उनलाई आग्रह गरेका छन्।

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले १३औं महाधिवेशनमा तत्कालीन संस्थापन पक्षबाट विद्रोह गरी सभापतिमा उम्मेदवारी दिँदा पहिलो चरणमा परिणाम आउन नसकेको यथार्थ रहेको जनाउँदै देउवानिकट एक नेताले भने,‘अहिले खुमबहादुर खड्का हुनुहुन्न। कुलबहादुर गुरुङसहितका नेताहरूको साथ र सहयोग रहने अवस्था पनि छैन।

निधि र श्रेष्ठ नै प्रतिस्पर्धामा उत्रिने हो भने आफ्नो पक्षमा पहिलो चरणमा परिणाम आउन कठिन हुन्छ।’ कर्णालीसहित केही ठाउँमा संस्थापन पक्षको अवस्था सुधार भए पनि प्रदेश नम्बर २ सहित देशभरि निधिले अप्ठेरो पार्ने ती नेताले बताए।‘१३औं महाधिवेशनको तुलनामा अहिले संस्थापन पक्षले जिल्ला सभापतिमा केही बढी स्थानमा जितेको छ,’ उनले भने, ‘अहिलेसम्मको अवस्था हेर्दा सभापतिमा निर्वाचित हुन पुग्ने प्रतिनिधि संख्या हाम्रो (संस्थापन) पक्षमा पुग्ने देखिँदैन।’
संस्थापन इतर समूहबाट सभापतिमा धेरै प्रतिस्पर्धी भए देउवालाई पहिलो चरणमै नेतृत्वमा चुनिन सहज हुने पनि उनी पक्षधर नेताको विश्लेषण छ। ‘धेरै उम्मेदवार हुँदा संस्थापन इतर पक्षले सभापति जित्दैन भन्ने वातावरण बन्दा देउवालाई फाइदा पुग्छ भन्ने मत पनि छ,’देउवा निकट ती नेताले थपे,‘अर्को बिग्रिएपछि आफू राम्रो हुनेभन्दा निकटहरूलाई मिलाएर सुरक्षित हुन लाग्नुपर्छ। नत्र नेतृत्वमा टिकिराख्न कठिन हुनसक्छ।’

संस्थापन इतर पक्षका नेताहरूलाई पनि महाधिवेशनबाट नेतृत्वमा पुग्न साझा उम्मेदवार तय गर्न दबाब परेको छ। संस्थापन इतर समूहबाट नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र नेता शेखर कोइराला सभापतिको आकांक्षी छन्। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot