Logo

बाँकेको नरैनापुरमा छात्रालाई निःशुल्क साइकल



राँझा, १७ मङ्सिर: बाँकेको नरैनापुर गाउँपालिकाले छात्रालाई विद्यालयमा नियमितताका लागि निःशुल्क साइकल वितरण कार्यक्रम सञ्चालन गरेको छ ।

नरैनापुरका कक्षा ६ देखि १२ सम्म अध्ययनरत छात्रालाई निःशुल्क साइकल वितरण गरिएको छ । तल्लो कक्षादेखि माथिल्लोमा उक्लिँदा विद्यालय छोड्नेक्रम बढेपछि गाउँपालिकाले छात्रालाई विद्यालयसँग जोड्ने उद्देश्यले लुम्बिनी प्रदेश सरकारसँगको सहकार्यमा निःशुल्क साइकल वितरण कार्यक्रम सञ्चालन गरेको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताए ।

उनका अनुसार गाउँपालिकाले मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमअन्तर्गत पालिकामा रहेका तीन माध्यमिक विद्यालय र एक आधारभूत तहमा कक्षा ६ देखि १२ सम्म अध्ययन गर्दै आएका ५०२ छात्रालाई साइकल वितरण गरेको हो । नरैनापुरमा रहेका सामुदायिक विद्यालयमध्ये तीन मावि, एक आधारभूत तथा ४२ प्राविमा कक्षा ५ सम्म पढेर विद्यालय टाढा भएको बहाना बनाउँदै कक्षा छाड्ने गरेको गुनासो आएपछि गाउँपालिकाले छात्रालाई साइकल वितरण गर्न थालेको अध्यक्ष शाहको भनाइ छ ।

नरैनापुरको शैक्षिक क्षेत्रको विकासमा टेवा पु¥याउने उद्देश्यले छात्राको विद्यालयसम्म पहुँच बढाउन साइकल उपलब्ध गराइएको हो । लुम्बिनी प्रदेश सरकार र नरैनापुर गाउँपालिकाको सहकार्यमा रु ५० लाख बजेटमा साइकल वितरण कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले जानकारी दिए ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्