Logo

अपाङ्गता दिवसका अवसरमा छात्रवृत्ति तथा सहयोग सामग्री प्रदान



पोखरा, १८ मङ्सिर: अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा कास्कीको रुपा गाउँपालिकामा छात्रवृत्ति र सहयोगी सामग्री वितरण गरिएको छ ।

पोखरा–१५ नयाँ गाउँमा रहेको सगोल कास्कीले अपाङ्गता भएका १६ छात्रा र १४ छात्रलाई झोला, कापी, कलम, विद्यालय पोशाक र फेस मास्क सहयोग प्रदान गरेको हो । सस्थाका सिबिआर अधिकृत विमला केसीले छात्रबृत्ति प्राप्त गरेका सबै विद्यार्थीलाई गाउँपालिकाको तर्फबाट पोशाक सिलाइका लागि रु ५०० प्रदान गरिएको छ ।

त्यस्तै अपाङ्गता भएका १५ जना नागरिकका लागि आवश्यकताअनुसारका सहयोगी सामग्री प्रदान गरिएको छ । अपाङ्गताको प्रकृतिअनुसार ट्वाइलेट चियर, सेतोछडी, लठ्ठी र वैशाखी प्रदान गरिएको उनले जानकारी दिए ।

कार्यक्रममा रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाले अपाङ्गता भएका व्यक्तिलाई आर्थिकरुपमा सवल र आत्मनिर्भर बनाउन गाउँपालिकाले गरिरहेको प्रयासमा विभिन्न सङ्घसंस्थाको पनि उत्तिकै सहयोग मिलेको बताए ।

गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिको आयआर्जनका लागि बाख्रापालन, मौरीपालन, कुखुरापालनलगायत बेलाबेलामा विभिन्न सीपमूलक तालीमसमेत आयोजना गर्दै आएको छ ।
गाउँपालिकाकी उपप्रमुख लालसुवा गुरुङले अपाङ्गता भएका व्यक्तिका लागि छुट्टै सहकारी स्थापना गरी आर्थिक उन्नति र विकासमा ध्यान दिइएको जानकारी दिए ।

सो अवसरमा रुपा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष ढुङ्गानाले सार्वजनिकस्थलको भौतिक पूर्वाधार निर्माणका क्रममा अपाङ्गमैत्री संरचना निर्माणमा गाउँपालिकाले जोड दिएको जानकारी दिए ।

रुपा अपाङ्गता संरक्षण समितिका अध्यक्ष सन्तबहादुर भुजेलको अध्यक्षतामा भएको कार्यक्रममा रुपा – ५ का वडाध्यक्ष टेकबहादुर गुरुङ, गोनेसाका प्रज्वल पङ्गेनी, रुपा गाउँपालिका सामाजिक विकास शाखाका सीता सापकोटा सुवेदी, शिक्षा शाखा प्रमुख सन्दिप पौडेल लगायतले अपाङ्गता भएका व्यक्तिको अधिकारका लागि सरकारले ध्यान दिनुपर्छ भने ।-रासस



प्रतिक्रिया दिनुहोस्