Logo

कांग्रेस महाधिवेशनः जो गुट फेरिरहन्छन्



काठमाडौ, मंसिर १९ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी पार्टीको १३औं महाधिवेशनमा शेरबहादुर देउवाको समूहबाट महामन्त्रीको प्रत्याशी थिए। देउवा सभापतिमा निर्वाचित भए तर केसी महामन्त्रीमा पराजित भए। त्यसपछिको केही समय देउवा गुटमै रमाएका केसीले उक्त समूह छाडे।

देउवा गुटबाट बाहिरिएपछि केसी पार्टीभित्र रामचन्द्र पौडेल नेतृत्वको संस्थापन इतर समूह वा १३औं महाधिवेशनबाट उदाएको कृष्णप्रसाद सिटौला नेतृत्वको तेस्रो धार कता लाग्छन् भन्ने चासो कांग्रेस नेता–कार्यकर्तामा थियो। केसी पार्टीको १३औं महाधिवेशनअघिकै गुटमा फर्किए। १३औं महाधिवेशनमा तत्कालीन संस्थापन पक्षले शशांक कोइरालालाई महामन्त्रीमा अघि सार्ने तय गरेपछि केसी गुट परिवर्तन गरी देउवा समूहबाट महामन्त्रीको उम्मेदवार बनेका थिए।

अहिले पुरानै गुटमा फर्केका केसी देउवाविरुद्ध संस्थापन इतरका नेतालाई एकजुट बनाउन सक्रिय छन्। केसीले केही समयअघिसम्म संस्थापन इतर समूहबाट सभापतिका आकांक्षी रामचन्द्र पौडेल, शशांक कोइराला, प्रकाशमान सिंह र शेखर कोइरालामध्येबाट एक साझा उम्मेदवार नभए आफू पनि सभापतिको प्रत्याशी बन्ने बताउँदै आएका थिए। तर महाधिवेशन मिति नजिकिँदै गर्दा संस्थापन इतरबाट साझा उम्मेदवार बन्ने सम्भावना कमजोर बन्दै गएको विश्लेषण गर्न थालिएका बेला केसीले १४औं महाधिवेशनमा पार्टी उपसभापतिमा उम्मेदवारी दिने बताउन थालेका छन्। केसीले संस्थापन इतर समूहबाटै उपसभापतिको उम्मेदवारी दिने बताए पनि सभापतिका आकांक्षीमध्ये उनी कोसँग जोडिन्छन् निश्चित भएको छैन।

एउटा जीवन्त पार्टीमा विचार, कार्यक्रम तथा नीतिलाई लिएर गुट र समूह परिवर्तन हुनु अस्वाभाविक होइन। तर कांग्रेसका नेताहरूले पद, प्रतिष्ठा, सत्ता, शक्ति र व्यक्तिगत स्वार्थका लागि गुट परिवर्तन गर्दै आएका छन्। जुन कांग्रेसजनका लागि नौलो होइन। पद, प्रतिष्ठा, सत्ता, शक्ति र स्वार्थमा गुट परिवर्तन गर्ने केसीमात्र एक्लो नेता भने होइनन्। केसीजस्ता धेरै कांग्रेस नेताले आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्न गुट अदलबदल गर्दै आएका छन्। त्यो पनि पार्टी स्थापनाकालदेखि नै।

यसरी नै गुट परिवर्तन गर्ने अर्का नेता हुन् केन्द्रीय सदस्य एवं परराष्ट्रमन्त्री नारायण खड्का। माओवादीविरुद्ध संकटकाल लगाउने कि नलगाउने भन्ने विवादमा कांग्रेस विभाजन हुँदा खड्काले देउवालाई साथ दिएका थिए। २०६४ सालमा पार्टी एकीकरण भयो। त्यसपछि खड्काले बिस्तारै देउवाको साथ छाडे र पुरानो संस्थापनतिर लागे।

संस्थापन पक्षतिर आफूलाई प्रतिबद्ध देखाउँदै खड्का सुशील कोइराला नेतृत्वको तत्कालीन सरकारमा सहरी विकास मन्त्री बने। साढे पाँच वर्षअघि भएको पार्टीको १३औं महाधिवेशनमा देउवा इतर समूहबाटै केन्द्रीय सदस्य बनेका थिए उनी। तर १४औं महाधिवेशनसम्म आइपुग्दा खड्का फेरि देउवाको विश्वासपात्र मात्र बनेका छैनन्, उनले परराष्ट्रमन्त्रीको जिम्मेवारीसमेत पाएका छन्। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot