Logo

‘सरकारले भ्याक्सिनमा पटक्कै राम्रो काम गर्न सकिरहेको छैन्’ : डा. दिक्षित (भिडिओसहित)



बरिष्ठ चिकित्सक डा. सुन्दरमणि दिक्षितले नेपालमा ओमिक्रोन भेटिएपनि धेरै आँत्तिनुपर्ने कुरा नभएको भएको बताएका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले नाका बन्द गर्दैमा भाइरस नभित्रिने भन्ने नहुने पनि बताए । उनले भने–‘सरकारले भ्याक्सिनमा पटक्कै राम्रो काम गर्न सकिरहेको छैन् । अहिलेसम्म २८ प्रतिशतलाई मात्र पूर्ण खोप लगाइएको छ । यो कुरा राम्रो भएन । सरकारले भ्याक्सिनमा जोड दिनपर्ने छ । अहिलेसम्म सरकारले ८० प्रतिशत जनतालाई खोप दिनुपर्ने थियो । तर, सरकारले यो कुरामा धेरै लापरवाही गरेको छ । स्कुलहरु खुलिसकेका छन् । तर, बच्चाहरलाई भ्याक्सिन दिईएको छैन् । अहिले ओमिक्रोन संक्रमण अत्यधिक मात्रमा बच्चालाई नै देखिएको छ । तर, सरकारको यसमा विल्कुलै लापरवाही भएको छ ।’ प्रस्तुत छ डा. दिक्षितसँग पत्रकार ऋषि धमलाले गरेको कुराकानीको सम्पादित अंश :

नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट (ओमिक्रोन)का संक्रमित भेटिए, अब यसबाट बच्न जनताले के गर्ने अनि सरकार कसरी अगाडी बढ्ने ?

हो, नेपालमा पनि हिजो ओमिक्रोन भेटिएको छ । यसमा धेरै आँत्तिनुपर्ने कुरा छैन तर, धेरै मात्तिनुपनि हुँदैन् । भनेको मतलब जनताले आफुले गर्ने काम छोड्नु हुँदैन् । त्यो भनेको दुई÷तिनवटा कुराहरु धेरै नै महत्वपूर्ण रहेको छ, पहिलो नम्बरमा मास्क लगाउनु एकदम महत्वपूर्ण रहेको छ, दुई नम्बरमा दुरि कायम गर्नुहोस । अहिलेको अवस्थामा देशभर राजनीतिक तथा धार्मीक भेलाहरु भइरहेका छन् । राजनीतिक दलहरुले आफ्नो स्वार्थको लागि जनताको स्वास्थ्यको कत्तीपनि ख्याल गरेका छैनन् । मैले बारम्बार यो कुराभन्दा कुनै पार्टीका कुनै नेताले यो कुरा टेरेका छैनन् । यो कुरा नेपाली जनताको लागि धेरै नै दुर्भाग्यको कुरा हो । यो निकै नै दुःखको कुरा हो । त्यस्तो ठाँउमा कृपया नजानुहोला । म जनातलाई अनुरोध गर्नचाहन्छु । त्यस्तै, ठाउँबाट भाइरस छिटो फैलिने हो । त्यसैले जनताले आफ्नो ठाउँबाट गर्नुपर्ने कामहरु छोड्नु हुँदैन् । बाहिरबाट घरमा पुगेपछि अथवा कुनै पनि क्रियाकलाप गर्दा साबुन पानीले हात धुन अथवा स्यानिटाईज गर्न म सबैलाई आग्रह गर्न चाहन्छु । यो त भयो जनताले आफ्नो तर्फबाट गर्ने कुरा तर, सरकारको तर्फबाट पनि धेरै कुराहरु गर्न आवश्यक रहेको छ । भारतसँग जोडिएका सबै नाकामा उच्च सुरक्षा सतर्कता अपनाउन जरुरी छ ।

फेरीपनि सडक सञ्जालसँग जोडिएका नाका र विमानस्थल बन्द गर्नुपर्ने समय आईसकेको हो ?

तपाईंले यो कुरा पुर्ण रूपमा गर्न सक्नुहुँदैन् । हो सतर्कता अपनाउन र चेक गर्न पर्छ तर, नाका बन्द गर्दैमा भाइरस नभित्रिने भन्ने हुँदैन । सरकारले भ्याक्सिनमा पटकै राम्रो काम गर्न सकिरहेको छैन् । अहिलेसम्म २८ प्रतिशतलाई मात्र पूर्ण खोप लगाइएको छ । यो कुरा राम्रो भएन । सरकारले भ्याक्सिनमा जोड दिन पर्ने छ । अहिलेसम्म सरकारले ८० प्रतिशत जनतालाई खोप दिन पर्ने थियो । तर, सरकारले यो कुरामा धेरै लापरबाहि गरेको छ । स्कुलहरु खुलिसकेका छन् । तर, बच्चाहरलाई भ्याक्सिन दिइएको छैन् । अहिले ओमिक्रोन संक्रमण अत्याधिक मात्रमा बच्चालाई नै देखिएको छ । तर, सरकारको यसमा विल्कुलै लापरबाहि भएको छ । पैसा जति पनि छ । तर, भ्याक्सिनमा खर्च हुन किन सकेन ? तत्काल एक÷दुई महिना भित्र सबै जनतालाई भ्याक्सिन दिन म सरकारसँग जोडदार माग गर्दछु । नेपालका राजनीतिक दलहरुले पनि नेपाली जनताको स्वास्थ्यका लागि आफ्नो पैसा खर्च गरेर भएपनि तत्काल भ्याक्सिन लगाउन तिर लाग्ने प्रतिज्ञा गरुन ।

सरकारले म्याक्सिनको व्यवस्थापन गर्न नसकेको हो ?

यही त दुर्भाग्यको कुरा छ । सरकारले अहिलेसम्म ३० प्रतिशत जनतासम्म पनि भ्याक्सिन पुर्याएको छैन । हामी कराइरहेका छौ । तर, सरकारले कुनै वास्ता नै गरिरहेको छैन् । यस्तो पनि हुन्छ ? अष्ट्रेलियाले ८६ प्रतिशत दिइसकेको छ । अमेरिकाले पनि ६०÷७० प्रतिशत दिइसक्यो । बेलायतले झण्डै शत प्रतिशत दिइसक्यो । तर, हाम्रो सरकारले किन लापरबाही गर्यो भन्दा जनताप्रति प्रतिबद्ध नभएर, खाली महाधिवेशन भनेर हिँडेका छन्, आफ्नो प्रतिष्ठा जमाउन खोजेका छन् तर, जनताको लागि काम गरेका खोइ त ? त्यसैले नेपाली जनताले यसको हिसाब लिनेछन् । भ्याक्सिन नदिएसम्म जनताले भोट पनि दिन हुँदैन् ।

यसअघि जस्तो सजिलोसँग यो ओमिक्रोन भाइरस पत्ता लगाउन नसकिने भन्ने सुनिएको छ, त्यसो हो र ?

हो, एकदम गाह्रो छ । मलाई लाग्छ यो भइरसले आफ्नो क्यारेक्टरलाई दिनप्रतिदिन परिवर्तन गरिरहन्छ । अस्तिसम्म दुई÷तीन वटा म्युटेन थियो भने ओमिक्रोनमा ३० वटा म्युट्रेसन आइसक्यो । त्यसैले सरकारले भ्याक्सिनमा ध्यान दिन जरुरी छ भने जनताले पनि आफ्नो सुरक्षामा अत्यन्तै ध्यान दिन जरुरि छ । अब त यो सँग बाच्न पनि हामीले सिक्नपर्ने भइरहेको छ । जसरी तपाईं जंगलमा बस्दा बाघ, भालु, चितुवासँग बचेर बाँच्नुहुन्छ नि यहाँ पनि त्यस्तै हो । तपाई हरेका बाघ भालुलाई मार्न सक्नुहुन्न, तपाईं आफ्नो बचाउ गर्नुहुन्छ त्यसैले यहाँपनि अब यो भाइरस वर्षाैंसम्म बस्ने भयो कति खतरनाक हुन्छ त्यो पनि हामीलाई थाहा छैन् । तर, जनताले पनि मनपरि नगरेर भाइरससँग बचेर, आफ्नो सुरक्षा गरेर यो सँग लड्ने हिम्मत गर्नुपर्छ ।



प्रतिक्रिया दिनुहोस्